
काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रो र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच तीन वर्षपछि पहिलो फोनवार्ता भएको छ । मंगलबार भएको वार्तमा इरानबारे केही विषयमा एकमत भए पनि युक्रेन युद्धको विषयमा उनीहरूको मतभेद कायमै रहेको द न्युयोर्क टाइम्सले जनाएको छ ।
गत महिना अमेरिकाले इरानका आणविक स्थलहरूमा बमबारी गरेपछि सुरू भएको दुई घण्टाको यो वार्तामा संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्का सदस्यको रूपमा दुवै नेताले अन्तर्राष्ट्रिय आणविक अप्रसार संठनको संरक्षणमा चासो व्यक्त गरेको रुसी राष्ट्रपति कार्यालय क्रेमलिनको वक्तव्यमा उल्लेख छ ।
यो वार्ता अमेरिकाको इरानका आणविक स्थलहरूमा बमबारी गर्ने निर्णयबाट दुवै नेता साइडलाइनमा परेको सन्दर्भमा भएको समाचारमा उल्लेख छ । म्याक्रोका लागि यो मध्यपूर्वमा अन्तर्राष्ट्रिय सान्दर्भिकता पुनः प्राप्त गर्ने कदमस्वरुप र पुटिनका लागि युक्रेन आक्रमणमा पश्चिमको आक्रोशका बाबजुद रूसको अन्तर्राष्ट्रिय भूराजनीतिक प्रभाव देखाउने अवसरको रूपमा भएको बताइएको छ ।
रूसले युक्रेनमा आक्रमण सुरु भएदेखि पश्चिमी नेताहरूले मस्कोलाई अलग्याउने प्रयास गरेको सन्दर्भमा म्याक्रोले पुटिनसँग कूटनीतिक जोखिम लिएर रुसी राष्ट्रपतिसँगको वार्ता गरेको समाचारमा उल्लेख छ ।
यो गत वर्ष नोभेम्बरमा जर्मनीका तत्कालीन चान्सलर ओलाफ शोल्जसँग कुरा गरेपछि पुटिनको कुनै प्रमुख युरोपेली संघ नेतासँगको पहिलो वार्ता हो । पुटिनले इजरायल र इरानबीचको युद्धपछि रूसलाई इरानसँगको नजिकको सम्बन्ध र इजरायलसँगको सौहार्दपूर्ण सम्बन्धका कारण मध्यस्थताका लागि उपयुक्त देखाउँदै सबैतिरबाट एक्ल्याइएको अवस्था तोड्ने अवसरको रूपमा रूसले प्रयोग गर्न खोजेका हुनसक्ने बताइएको छ ।
म्याक्रोले सन् २०२२ मा रूसको युक्रेन आक्रमणअघि मस्को भ्रमण गरेर कूटनीतिमार्फत आक्रमण रोक्न प्रयास गरेका थिए ।
फोनवार्तामा म्याक्रोले युक्रेनको अटल समर्थन र क्षेत्रीय अखण्डतामा जोड दिए । पुटिनसँग तत्काल युद्धविरामको आह्वान गरको फ्रान्सको राष्ट्रपति कार्यालय एलिसे प्यालेसको प्रेस वक्तव्यमा उल्लेख छ ।
क्रेमलिनका अनुसार पुटिनले युक्रेनबारे आफ्नो अडानमा कुनै परिवर्तन नगरेको र युद्धको दोष पश्चिमलाई दिने आफ्नो पुरानो भनाइ दोर्याएका थिए ।
उनले म्याक्रोलाई शान्ति सम्झौताले नेटोको पूर्वी युरोपमा विस्तारलगायत युद्धका मूल कारणहरू सम्बोधन गर्नुपर्ने बताएका थिए । द न्युयोर्क टाइम्स