
विराटनगर । कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्की धान दिवस कार्यक्रममा सहभागी भएका छन् । आइतबार विराटनगरमा आयोजित धान रोपाइँ कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले 'किसान पहिलो अभियान'अन्तर्गत कृषि क्षेत्रको सुधारमा काम गरिरहेको बताए ।
२२औँ राष्ट्रिय धान दिवसको अवसरमा आयोजित कार्यक्रममा कार्कीले जलवायु परिवर्तनका कारण कृषि उत्पादनमा गम्भीर असर परेको बताए । खेती प्रणालीलाई मौसमीय परिवर्तनको अनुकूल बनाउँदै अघि बढ्नुपर्ने उनको भनाइ छ ।
“कृषिमा दीर्घकालीन सुधार ल्याउन हामीले किसानलाई प्राथमिकतामा राख्नैपर्छ,” उनले भने ।
उनले कोसी सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा कृषिलाई पहिलो प्राथमिकतामा राखेको जिकिर गरे ।
विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्की र कर्मचारी पनि धान रोपाइँ कार्यक्रममा सहभागी भएका छन् । धान दिवसको अवसरमा विराटनगरको दरैयामा सामूहिक धान रोपाइँ कार्यक्रम आयोजना गरिएको थियो ।
वडा नम्बर १६ स्थित दरैयामा आयोजित कार्यक्रममा उपमेयर कार्कीले आन्तरिक उत्पादनलाई बढाउन र आयातलाई प्रतिस्थापन गर्न आवश्यक रहेको बताइन् । उनले धानको खपत बढ्दै गए पनि नेपाल अझै धानमा आत्मनिर्भर नभएकामा चिन्ता व्यक्त गरिन् ।
मोरङको बुढीगंगा गाउँपालिका वडा नम्बर ३ स्थित स्मृति इंग्लिस बोर्डिङ स्कुलले पञ्चेबाजा र बेठीसहित परम्परागत रोपाहार लगाएर विद्यार्थी तथा अभिभावक सहभागी गराई धान रोपाइँ गरेको छ ।