site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ट्रम्पले भने– अमेरिकाले इरानका आणविकस्थलमा सफल आक्रमण गर्‍यो

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार आफ्नो देशले इरानका फोर्डो, नटान्ज र इस्फहानलगायत आणविकस्थलमा धेरै सफल आक्रमण सम्पन्न गरेको घोषणा गरेका छन् । उनले सबै विमान हाल इरानको हवाई क्षेत्रबाहिर आइसकेको बताएका छन् ।

“हामीले इरानका तीन आणविकस्थल – फोर्डो, नटान्ज र इस्फहानमा हाम्रो धेरै सफल आक्रमण सम्पन्न गरेका छौँ । सबै विमानहरू अब इरानको हवाई क्षेत्रबाहिर छन् । मुख्य स्थल फोर्डोमा पूर्ण मात्रामा बमहरू खसालिएको छ । सबै विमानहरू सुरक्षित रूपमा घर फर्किंदै छन् । हाम्रा महान् अमेरिकी योद्धाहरूलाई बधाई । विश्वमा यो गर्न सक्ने अर्को कुनै सैन्य शक्ति छैन । अब शान्तिको समय हो ! यो विषयमा तपाईंको ध्यानका निम्ति धन्यवाद,” ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल पोस्टमा लेखेका छन् ।

ट्रम्पले उनको आदेशमा गरिएका तीन इरानी आणविकस्थलमाथिको आक्रमणले इरानलाई पुनः वार्तामा फर्काउने र थप अमेरिकी कारबाही गर्ने योजना नभएको बताएको सीएनएनले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त आक्रमणले इरानी नेतालाई युद्ध अन्त्य गर्न सहमत हुन दबाब दिएको जनाइएको छ ।

ट्रम्पले पछिल्ला केही दिनमा इरानका अत्यधिक सुरक्षित आणविक केन्द्र नष्ट गर्न अमेरिकी सेना आवश्यक रहेको बताएका थिए । उनले यो निर्णय कूटनीति गतिरोध आएको देखेपछि लिएका थिए ।

यसैबीच, विभिन्न जानकार स्रोतहरूले सीएनएनलाई अमेरिकाले ती विभिन्न आणविक संरचनामा आक्रमण गर्न बी–२ बमवर्षक विमान प्रयोग गरेको बताएका छन् ।

इरानी सरकारी मिडिया आउटलेट फार्स न्युजका अनुसार, तेहरानबाट करिब ८७ माइल दक्षिणमा रहेको कुमका बासिन्दाले आफ्नो सहरबाहिर धेरै विस्फोट सुनेका थिए ।

फोर्डो आणविक केन्द्र कुमनजिकै अवस्थित छ । त्यो पहाडको काखमा निर्माण गरिएको छ । फार्सले जनाएअनुसार, फोर्डोको हवाई रक्षा प्रणाली सक्रिय भएपछि विस्फोट भएका थिए । 

यो आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार राति १० बजे (ईटी) ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्ने घोषणा गरेका छन् ।

इजरायलका पूर्वरक्षामन्त्री योआभ गालान्टले अमेरिकाले तीन इरानी आणविक सुविधामा गरेको आक्रमणलाई साहसिक निर्णय र यो सम्पूर्ण मानवजातिका निम्ति गरिएको एक्समा एक पोस्ट गर्दै बताएका छन् ।

“राष्ट्रपति ट्रम्पले संयुक्त राज्य अमेरिका, इजरायल र सम्पूर्ण मानवजातिका निम्ति साहसिक निर्णय लिनुभयो । अब विश्व सुरक्षित स्थान भएको छ,” उनले भनेका छन् ।

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  ०६:०२
प्रतिक्रिया दिनुहोस्