site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेसमा दुवै पक्षको सक्रियता, संस्थापन पक्ष भन्छ– देउवालाई अप्ठ्यारो पर्न दिँदैनौं
Tiktok banner adTiktok banner ad

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले पराजय बेहोरेपछि नेपाली कांग्रेसभित्र आन्तरिक विवाद चुलिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र अर्का नेता रामचन्द्र पौडेल पक्षका नेताहरु दैनिक रुपमा आन्तरिक छलफलमा व्यस्त छन् ।

पौडेल पक्षलाई युवा नेताहरुले पनि साथ दिएका छन् भने पौडेल आफैंले पनि आन्तरिक छलफललाई तीव्रता दिएका छन् । यता संस्थापन पक्षका नेताहरुले पनि आफ्नो भेटवार्ता र आन्तरिक छलफललाई झनै तीव्रता दिएका छन् ।

उनीहरु प्रधानमन्त्री निवास बालुवाटारमा विशेष छलफलमा रहने एक नेताले बताए । उनीहरुको छलफल पार्टीको आगामी रणनीति, केन्द्रीय समिति र महासमिति बैठकमा संस्थापन पक्षले निभाउनुपर्ने भूमिकालगायतका विषयमा केन्द्रित हुने गरेको स्रोतको भनाइ छ । ‘‘नेतृत्वलाई असहज अवस्था आउन नदिन हामीहरु पार्टीको विधानसम्मत ढंगबाट प्रोटेक्सन गर्न तयार छौं,’’ पटक–पटक मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका एक कांग्रेस नेताले भने । 

पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिएका कांग्रेस नेता एनपी सावदले भने आफूहरु गुटगत छलफलमा नलागेको दाबी गरे । ‘‘अहिलेसम्म कुनै गुट–उपगुटको छलफल भएको छैन,’’ उनले बाह्रखरीसँगको कुराकानीमा भने, ‘‘हामी पार्टीभित्रको गुट–उपगुटको अन्त्य गरेर संस्थागत रुपमा अगाडि बढ्नुपर्छ भन्ने पक्षमा छौं ।’’

पौडेल पक्षका नेताहरुले पार्टी सभापति देउवाका कारण निर्वाचनमा पार्टीले हार बेहोर्नुपरेको बताइरहेका बेला नेता सावदले दुई दल मिलेका कारण चुनावमा कांग्रेसले पराजय बेहोरेको दाबी गरे ।

‘‘कांग्रेसले बेहोरेको पराजय पार्टीभित्र अनेकता भएर होइन । दुई प्रमुख शक्ति मिलेका कारण पराजय भएको हो,’’ उनले भने, ‘‘यसमा पार्टी सभापति एक्लैलाई दोष दिन मिल्दैन ।’’ नेता सावदले पार्टीको संस्थागत नेतृत्वलाई सुदृढ गरेर मात्रै पार्टी बलियो बन्ने जिकिर समेत गरे । 

चुनावी नतिजाको विषयलाई कारण बनाएर पार्टी सभापतिको राजीनामा माग्नु गलत भएको टिप्पणी गर्दै उनले विधानतः कांग्रेसको नेतृत्व महाधिवेशनबाट मात्रै परिवर्तन हुने स्पष्ट व्यवस्था रहेको बताए । ‘‘१३ औं महाधिवेशनले नेतृत्व चयन गरेको दुई वर्ष पनि पुगेको छैन । महाधिवेशनको परिणाम जित्ने र हार्ने दुवैले स्वीकार गर्नुपर्दछ,’’ नेता सावदले भने, ‘‘चुनावी हारको विषयलाई लिएर नेतृत्व परिवर्तनको कुरा गर्नु प्रजातान्त्रिक पद्धति विपरित हो, जुन प्रजातान्त्रिक मूल्य–मान्यताअनुरुप हुनै सक्दैन ।’’

त्यस्तै पार्टी सभापति देउवा निकट अर्का नेता रमेश लेखकले पार्टीभित्रको असन्तुष्टि बाहिर पोखिँदा पार्टीलाई नै क्षति हुने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता लेखकले अहिले उठेको बहस पार्टीको केन्द्रीय समिति बैठकमा राख्दा मात्रै पार्टीका लागि फाइदाजनक हुने उल्लेख गरेका छन् । 

उनले कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएर निर्वाचनको समीक्षा गर्नुपर्ने बताएका छन् । ‘‘केन्द्रीय समितिको बैठक बोलाई निर्वाचनको समीक्षा गरी पार्टीको आगामी बाटो तय गर्न बिलम्ब भईसकेको छ । अब थप ढिलो गर्न हुँदैन । सबै खाले विचार केन्द्रीय समितिमा व्यक्त हुँदा पार्टीलाई हित हुन्छ । बाहिर पोखिँदा दिनानुदिन नोक्सान मात्र हुँदैछ,’’ नेता लेखकले भनेका छन् ।

पार्टीको नेतृत्व कमजोर भएको, नेतृत्वकै कारण पराजित हुनुपरेको बताउँदै आएका नेता पौडेललाई करिब डेढ दर्जन जिल्ला सभापतिले समेत साथ दिँदै आएका छन् ।

पौडेल पक्षको छलफल र भेटघाटलाई नवीन्द्रराज जोशीले सहजीकरण गरिरहेका छन् । पौडेल पक्षले अहिलेसम्म तीन चरणमा आन्तरिक छलफल गरिसकेको बताइएको छ । 
पौडेल पक्षलाई चन्द्र भण्डारीले सहजीकरण गरिरहेका छन् भने ७ जना युवा नेताहरुको समूहमा रहेका नेताहरुले पनि साथ दिएका छन् ।

केही दिनअघि बसेको पौडेल पक्षको आन्तरिक छलफलमा धनराज गुरुङ, बद्री पाण्डेय र गुरुराज घिमिरे पनि उपस्थित थिए ।  नेता भण्डारीले सहजीकरण गरिरहेको युवा नेताहरुको समूहले पार्टीको केन्द्रीय समिति र महासमिति बैठक बोलाएर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समीक्षा गर्नुपर्ने बताउँदै आएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २५, २०७४  १५:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro