काठमाडौं । नेपाली कांग्रेसमा अस्थावान प्रवुद्ध व्यक्तिहरुले युवा नेताहरुलाई पार्टीभित्रको गुट–उपगुट अन्त्य गरेर अघि बढ्न सुझाव दिएका छन् ।
पार्टी सुदृढीकरणका लागि भन्दै अभियान सञ्चालन गरिरहेका ७ जना केन्द्रीय सदस्यहरुको समुहले सोमबार काठमाडौं पुरानो बानेश्वरस्थित एक होटलमा आयोजना गरेको ‘नेपाली कांग्रेसको अवको बाटो र प्रवुद्ध व्यक्तित्वसँगको छलफल’ कार्यक्रममा सहभागिहरुले युवा नेताहरुलाई पार्टीभित्रको गुट–उपगुट अन्त्य गरेर अघि बढ्न सुझाव दिएका हुन् ।
कार्यक्रममा बोल्ने अधिकांश प्रवुद्ध व्यक्तिहरुले युवा नेताहरुलाई पार्टी विधान अनुसार अगाडि बढ्न सुझाव दिँदै पार्टीभित्रको गुटबन्दी वैधानिक रुपमै अन्त्य गरिनुपर्नेमा जोड दिए ।
उनीहरुले पार्टीलाई जोगाउनका लागि तत्काल नेतृत्व परिवर्तनभन्दा पनि चुनावको समीक्षा गरेर संगठन विस्तारका साथै विधान संशोधनका लागि बहस र छलफल चलाउन आवश्यक रहेको पनि बताएका छन् ।
छलफल कार्यक्रममा नेपाल शिक्षक संघका पूर्व अध्यक्ष मोहन ज्ञवालीले कांग्रेसमा पार्टीभित्र र बाहिर पटक पटक अवसर पाएका नेताहरुले नै ‘गनगन’ गर्ने परिपाटी रहेको टिप्पणी गर्दै अवसर पाउँदा ती केही पनि नबोल्ने गरेको बताए । उनले कांग्रेसका युवा नेताहरुलाई स्पष्ट दृष्टिकोणसहित पार्टी सुदृढीकरणका लागि जनतामाझ छलफलमा जान सुझाव दिए ।
डा. केदारनरसिँह केसीले निर्वाचनमा पार्टीले व्यहोरेको पराजयको जिम्मेवारी सभापति शेरबहादुर देउवा एक्लैको मात्रै नभएर पार्टीको स्थानीय नेतृत्व पनि उत्तिकै दोषी रहेको बताए । उनले युवा नेताहरुलाई प्रतिवद्धतासहितको स्वेतपत्र जारी गरेर तल्लो स्तरसम्म छलफल, बहस, र अन्तरक्रिया गर्न सुझाव दिए ।
डा. केसीले पार्टी नेतृत्वको भयबाट मुक्त हुन जरुरी रहेको जिकिर गर्दै युवा नेताहरुलाई केन्द्रीय समितिको बैठक बोलाएर महासमिति बैठकसम्म चुनावको समीक्षा र आगामी कार्यदिशाका बारेमा छलफल चलाउन जरुरी रहेको पनि बताए ।
यस्तै पुरञ्जन आचार्यले नेतृत्व संवेदनशील नभएसम्म नीति तथा कार्यक्रमहरुले मात्रै पार्टीलाई बलियो बनाउन नसकिने भन्दै प्रतिनिधिसभा र प्रदेशसभामा कांग्रेसले खेल्ने प्रतिपक्षको भूमिकाले देशको भविश्य निर्धारण हुने बताए । उनले राष्ट्रलाई संवोधन गर्न सक्ने, सत्तारुढ दलका भ्रष्टाचार जनता सामु ल्याउन सक्ने व्यक्तिलाई संसदीय दलको नेता चुन्न युवा नेताहरुले भूमिका निभाउनुपर्नेमा जोड दिए ।
छलफल कार्यक्रममा जैयन्द्र जीवन शर्माले कांग्रेसका युवा नेताहरुले आवश्यक परे विद्रोह गर्ने हिम्मत राख्नुपर्ने भन्दै एजेण्डा तय गरेर छलफललाई निष्कर्षमा पुर्याउनुपर्ने बताए । गुट संस्कृतिबाट मुक्त हुन सुझाव दिँदै उनले अहिलेको बहसलाई सभापति देउवा निकटका व्यक्तिहरुले बहस नचर्कियोस् भन्ने चाहेको स्पष्ट पारे । ‘‘सभापति देउवाको किचन क्याबिनेट भनिने व्यक्तिहरुले यो बहस नचर्कियोस् भन्ने चाहेका छन्’’, शर्माले भने, ‘‘दुई महिना पछि बहस सेलाएर जान्छ र हामी फेरी अहिलेकै अवस्थामा रहन्छौं भन्ने सोचेका छन् ।’’
त्यस्तै हरिहर विरहीले चुनावमा हार–जीत स्वाभाविक भए पनि कांग्रेसको मनोवल नराम्रोसँग खस्किएको बताए । मनोवल खस्किनु मुलुकको भविश्यका लागि राम्रो नभएको जिकिर गर्दै उनले पार्टीका नेताहरुको भनाई, बोलाई र गराईमा एक रुपता ल्याउन जरुरी रहेको बताए ।
छलफल कार्यक्रममा होमनाथ दाहालले मतदातालाई निरुत्साहित नगर्न आग्रह गर्दै धेरै नकारात्मक कुराहरु बाहिर जाँदा कांग्रेसका मतदाताहरुमा निराशा बढ्ने भएकाले त्यसलाई रोक्नु पर्नेमा जोड दिए । ‘सेतो धमिरो’ ले घरलाई क्षति पुर्याए जस्तै कांग्रेसभित्रको भागबण्डाले पार्टीलाई क्षति पुर्याएको उनको भनाई थियो ।
दाहालले पार्टीभित्रको भागबण्डा समाप्त नगरेसम्म पार्टी सुदृढीकरणको अभियानमा लाग्नु निरर्थक हुने दावी गरे । ‘‘सेतो धमिरो समाप्त नगरेसम्म युवाहरु नेतृत्वमा पुगे पनि पार्टीको अवस्था अहिलेकै जस्तो रहने निश्ति छ’’ उनले भने ।
छलफल कार्यक्रममा सहभागि अच्युत वाग्लेले युवा नेताहरुले सुरु गरेको अभियानलाई निष्कर्षमा पुर्याउन मानसिक रुपमै तयार हुन आवश्यक रहेको औंल्याए । उनले आफुमा चुनावमा पराजित भए पछि नेताहरुले यो बहस सुरु गरेको त होइन भन्ने भान परेको समेत बताए ।
यस्तै अभिमन्युलाल सिँहले कांग्रेसका युवा नेताहरुले सुरु गरेको अभियान कसैप्रति लक्षित नभएर विधान सम्मत जानु पर्नेमा जोड दिए । ‘‘यो अभियान कसैप्रति लक्षित नहोस् । जे गर्नु छ त्यो विधी विधान अनुरुप हास्’’ उनले भने, ‘‘विधी सम्मत, विधान सम्मत गएर अभियानलाई टुंगोमा पुर्याउनुस् ।’’
त्यस्तै केशव पौडेलले युवा नेताहरुको अभियानको उद्देश्य सहि भए पनि प्रक्रिया गलत भएको प्रतिक्रिया दिए । उनले युवा नेताहरुले यो अभियान विद्रोहको तयारी हो कि पार्टी पूर्नजागरण अभियान हो भन्ने बारेमा स्पष्ट पारेर अघि बढ्न जरुरी रहेको पनि बताए । ‘‘कतै पद नपाएको ईश्र्या त होइन् ?’’ उनले प्रतिप्रश्न गरे ।
कार्यक्रममा सहभागि काशीनाथ मरासिनीले कांग्रेसलाई सुदृढीकरण गर्न किसान, मजदुर, जेष्ठ नागरिक र वैदेशिक रोजगारमा जाँदै गरेको युवाले अपेक्षा गरे अनुसार कार्यक्रम तय गरेर गाउँगाउँ जानु पर्ने आवश्यकता औल्याए । कार्यक्रममा नर्मदा पोखरेल, चण्डीका राणा, धुव थापा, विनय कुमार, जीवराज पोख्रेल लगायतका प्रवुद्ध व्यक्तिहरुले पनि पार्टी मजबुत बनाउन गुट–उपगुटको अन्त्य हुन आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रमको समापनमा कांग्रेसका युवा नेता धनराज गुरुङ आफुहरु ‘दाइ’ को खल्तीको नभएको दावी गर्दै छलफलबाट आफुहरु उत्साही र आशावादी बनेको बताए । उनले प्रवुद्ध व्यक्तिहरुबाट आएको सुझाव अनुसार नै अघि बढ्ने प्रतिवद्धता समेत जनाए ।
छलफल कार्यक्रममा कांग्रेस नेता चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, गुरुराज घिमिरे र प्रदीप पौडेल उपस्थित थिए । उनीहरुसँगै विज्ञप्ती जारी गरेर लिखित रुपमै पार्टीको केन्द्रीय समिति र महासमितिको बैठक बोलाउनुपर्ने माग गरेका नेताद्वय बद्री पाण्डेय र विश्वप्रकाश शर्मा उपस्थित थिएनन् ।