site stats
बाह्रखरी :: Baahrakhari
देश
दिलभूषण पाठकविरुद्धको पक्राउ पुर्जी खारेज गर्न सम्पादकहरूको माग
दिलभूषण पाठक । फाइल तस्बिर ।

काठमाडौं । विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूले पत्रकार दिलभूषण पाठकविरुद्धको पक्राउ पुर्जी खारेज गर्न माग गरेका छन् । शनिबार (जेठ ३१) संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले विद्युतीय कारोबार ऐनजस्तो फरक उद्देश्यले बनाइएको कानुन प्रयोग गरेर पक्राउ पुर्जी जारी गरिएकामा आपत्ति प्रकट गरेका छन् ।

“फरक उद्देश्यका लागि बनेको कानुनका दफा दुरुपयोग गरी सत्ताको बलमा प्रहरी परिचालन गरेर पत्रकार पक्राउ गर्न खोज्नु खेदजनक हो,” विज्ञप्तिमा भनिएको छ, “यसअघि पनि कानुनको यस्तो दुरुपयोग हुँदै आएको छ ।”

पत्रकारले प्रकाशन वा प्रसारण गरेका हरेक सामग्रीको जवाफदेहिता व्यहोर्नुपर्नेमा पनि आफूहरू प्रस्ट रहेको सम्पादकहरूले उल्लेख गरेका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“यसर्थ, विचार तथा अभिव्यक्ति स्वतन्त्रता जोडिएका विषयमा तत्सम्बन्धी कानुनले गरेको व्यवस्था पालना गर्न राज्यको ध्यानाकर्षण गराउँदै हामी दिलभूषण पाठकविरुद्धको पक्राउ पुर्जी खारेज गर्न माग गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा अगाडि उल्लेख छ, “सँगसँगै अभिव्यक्ति स्वतन्त्रताजस्तो मौलिक हकलाई खुम्च्याउने गरी विद्युतीय कारोबार ऐनमा राखिएका गलत प्रावधान संशोधन गर्ने प्रक्रियामा लैजान पनि सरकार र संसद्को ध्यान आकर्षित गर्न चाहन्छौँ ।”

sampadak-haru1-1749914098.jpg
सम्पादकहरूले बिजमाण्डुनेपालखबर डटकमसहितका अनलाइन न्युज पोर्टलमा प्रकाशित समाचारका विषयमा काठमाडौं जिल्ला अदालतका पछिल्ला आदेशप्रति पनि असहमति व्यक्त गरेका छन् । यसरी विज्ञप्ति जारी गर्नेमा बाह्रखरीका प्रधानसम्पादक प्रतीक प्रधानसहितका सम्पादकहरू छन् ।

काठमाडौंको नक्सालस्थित होटेल हिल्टनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा दम्पतीपुत्र जयवीरको लगानी रहेको ‘रिपोर्ट’ पाठकले आफ्नो युट्युब च्यानलमार्फत प्रसारण गरेका थिए । त्यसपछि जयवीरको उजुरीमा पाठकलाई पक्राउ गर्न प्रहरीले काठमाडौं जिल्ला अदालतबाट अनुमति पाएको छ ।

यस्तै, नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दायर गरेको मुद्दामा अदालतले बिजमाण्डु र नेपालखबरमा प्रकाशित समाचार ‘डिलिट’ गर्न आदेश दिएको थियो । 

विज्ञप्ति पढ्नोस्–

प्रकाशित मिति: शनिबार, जेठ ३१, २०८२  १७:५२
प्रतिक्रिया दिनुहोस्