
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भिजिट भिसा प्रकरणमा सरकारमा रहेका दुई राजनीतिक दलसँग गरिएको सम्झौता पार्टी हितमा भए/नभएका बारेमा समीक्षा गरिनुपर्ने बताएका छन् । शनिबार (जेठ ३१) माओवादी केन्द्र दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिको सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
“त्यसले हाम्रो पार्टीालाई, सुशासनको अभियानलाई हित हुने गरी भयो कि भएन भनेर समीक्षा हुनसक्छ,” उनले भने, “त्यसमा अध्यक्ष कमरेडले समग्र परिस्थितिको लेखाजोखा गरेर त्यस्तो निष्कर्षमा पुग्नुभएको हुनसक्छ ।”
सरकारमा रहेका दुई राजनीतिक दलसँग दुईबुँदे सम्झौता गरिएपछि संसद् बैठक सञ्चालन भएको उनले उल्लेख गरे । उनले त्यसबारेमा विभिन्न प्रतिक्रिया आइरहेको बताए । “त्यसबारेमा विभिन्न प्रतिक्रियाहरू आइरहेका छन् । त्यसबारेमा पार्टी अध्यक्षसँग प्रत्यक्ष छलफल र भेटघाट हुन पाएको छैन,” उनले भने, “मैले छलफल गरेर निष्कर्षमा नपुगी केही भन्न सक्दिनँ ।”
उक्त मुद्दालाई माओवादीले नछोड्ने उनले स्पष्ट पारे । “हामीले यो मुद्दा छोड्दैनौँ । भ्रष्टाचारको यो स्तरको जो प्रक्रिया अगाडि आएको छ, यो मुद्दा हामीले छोडेका होइनौँ । हामी छोड्दैनौँ,” उनले भने, “यो भ्रष्टीकरणको विरुद्ध, भ्रष्टाचारको विरुद्धको अभियान जारी राख्छौँ ।”
उनले अगाडि भने, “अरू कुराको हकमा तात्कालीक कार्यनीतिका हिसाबले के पर्यो, किन त्यसो गर्नुपर्यो भन्ने कुरा हामी छलफल गरेर मात्रै एउटा टुंगोमा पुग्नेछौँ ।” न्युज एजेन्सी नेपाल