site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रमुख प्रतिपक्षी दलको नेताले वीरतापूर्वक आत्मसमर्पण गरेको सुन्न पाइयो : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष तथा सांसद राजेन्द्र लिङदेनले भिजिट भिसा प्रकरणमा प्रमुख प्रतिपक्षी दलले आत्मसमर्पण गरेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उक्त कुरा बताएका हुन् । 

“प्रमुख प्रतिपक्ष दलको नेताले वीरतापूर्वक आत्मसमर्पण गरेको सुन्न पाइयो । बहादुरीको साथ पछाडि हटेको सुन्न पाइयो । यो हुने नै यही थियो । उहाँले भन्नुभयो गणतन्त्रको रक्षाको लागि, तर होइन यो गुटतन्त्रको रक्षाको लागि हो,” लिङदेनले भने । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आफ्नो दल जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने र अवरुद्ध संसद् सुचारु हुन दिने बताएपछि लिङदेलने प्रतिपक्षी दलले आत्मसमर्पण गरेको बताएका थिए । 

“दैनिक भिजिट भिसामा जानेहरूसँग ५० लाख असुलेर माथिल्लो तहसम्म जाने गरेको आएको छ । त्यो माथिल्लो तह भनेको को हो । मन्त्री, कर्मचारी, प्रधानमन्त्री नभएर को हो,” लिङदेनले भने, “यो नैतिकताको विषय मात्र होइन, यो सिंगो देशको प्रतिष्ठाको विषय हो । यो गम्भीर छानबिनको विषय हो ।”  

बोल्ने क्रममा उनले सरकारले मान्छेको लेख्न र बोल्न पाउने अधिकारमाथि हस्तक्षेप गरेको समेत बताए । उनले भने, “पूर्जी काट्ने काम गरेको छ, खेद प्रकट गर्दछु । सरकारले जंगे शासन लागु गर्न खोजेको छ त्यसको विरोध गर्छु ।”

 

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १७:३८
प्रतिक्रिया दिनुहोस्