site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इरानविरुद्धको हमला इजरायल र अमेरिकालाई महँगो पर्नेछ : इरानी सेना

काठमाडौं । इरानी सेनाका प्रवक्ता ब्रिगेडियर जनरल अबोल्फजल शेखरचीले इरानले इजरायली हमलाको प्रतिकार गर्ने चेतावनी दिएका छन् । उनले अमेरिकाले आफ्नो संलग्नता नरहेको दाबी गरे पनि अमेरिका र इजरायल दुवैका लागि यो आक्रमण महँगो पर्ने चेतावनी दिएका छन् ।

इजरायलले ‘अपरेसन राइजिङ लायन’नामक सैन्य अभियान सञ्चालन गर्दै इरानको इस्लामिक रिभोल्युसनरी गार्डका कमान्डर–इन–चिफ जनरल हुसेन सलामी र इरानका सर्वोच्च तहका सैन्य अधिकारी मेजर जनरल मोहम्मद बागेरी पनि मारिएका छन् । सलामी देशका सबैभन्दा शक्तिशाली व्यक्तिहरूमध्ये एक थिए ।
 
इरानको नाटान्ज युरेनियम विकास संरचना, परमाणु वैज्ञानिक र ब्यालिस्टिक मिसाइल कार्यक्रमको केन्द्रलक्षित आक्रमण गरेको छ । यो अभियान इरानले आणविक हतियार विकास गर्ने प्रयासलाई रोक्ने उद्देश्यले गरिएको बताइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“इस्लामिक गणतन्त्र इरानले निश्चितरूपमा प्रतिकार गर्नेछ र शत्रुले यसको ठूलो मूल्य चुकाउनेछ,” शेखरचीले इरानी राज्यनियन्त्रित संचारमाध्यम आईआरएनएलाई भने, “इजरायल र अमेरिका दुवैलाई महँगो पर्नेछ र कडा प्रहार झेल्नेछन् ।”

उनले यस हमलामा आवासीय क्षेत्रहरू लक्षित भएको पनि बताएका छन् । उनले सशस्त्र बलहरू पूर्णतयारीमा रहेको जानकारी दिए ।
 
हमलाभन्दा अगाडि बुधबार अमेरिकाले मध्यपूर्वका विभिन्न ठाउँबाट धेरै गैरआवश्यक कर्मचारी र तिनीहरूका परिवार हटाएको थियो । अधिकारीहरूले यस कदमको यकिन कारण नबताए पनि एक रक्षा अधिकारीले अमेरिकी केन्द्रीय कमान्डले मध्यपूर्वमा बढ्दो तनाव समीक्षा गरिरहेको बताए ।

राष्ट्रपति डोनाल्ड ट्रम्प र ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूले इजरायली हमलाको अपेक्षा गरिरहेका थिए । हमलापछि, विदेशमन्त्री मार्को रुबियोले यस आक्रमणमा अमेरिकी संलग्नता वा सहयोगी नभएको दाबी गरेका छन् । 
 
इरानले इजरायलमाथि प्रतिकार गर्ने यसको क्षमता मुख्यतया यसको ब्यालिस्टिक मिसाइल शक्तिमा निर्भर रहेको बताइएको छ । 

अन्तर्राष्ट्रिय सामरिक अध्ययन संस्थान (आईआईएसएस)को ‘मिलिट्री ब्यालेन्स २०२५’ अनुसार, इस्लामिक रिभोल्युसनरी गाड्स (आईआरजीसी) एयरोस्पेस फोर्ससँग १०० भन्दा बढी मध्यम दूरीका ब्यालिस्टिक मिसाइल लञ्चरहरू छन्, जसले एक हजार किलोमिटरभन्दा बढी दूरीमा पुग्नसक्ने प्रक्षेपणहरू पठाउन सक्छन् । जुन इजरायलमा आक्रमण गर्न पर्याप्त रहेको बताइएको छ ।

इरानको मिसाइल क्षमतामा ठोस इन्धन मिसाइल र तरल इन्धन मिसाइलहरू रहेको सीएनएनले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १०:५९
प्रतिक्रिया दिनुहोस्