site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपाल–श्रीलंका आईसीटी साझेदारी : डिजिटल रूपान्तरणमा सहकार्य

काठमाडौं । नेपाल र श्रीलंकाबीच सूचना तथा सञ्चार प्रविधि (आईसीटी) क्षेत्रको समृद्धि र सहकार्यका लागि रणनीतिक साझेदारी सुरु गरिएको छ । ‘नेपाल–श्रीलंका आईसीटी एलायन्स २०२५’ शीर्षकमा अगाडि बढाइएको यो पहलले दक्षिण एसियाको डिजिटल रूपान्तरणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

यस ऐतिहासिक साझेदारीको अवधारणा कम्प्युटर एसोसिएसन नेपाल महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीको नेतृत्वमा तयार गरिएको थियो । क्यान महासंघका शैक्षिक विज्ञ तथा केन्द्रीय कार्यकारिणी सदस्य ओंकार बस्नेतको पनि उक्त कार्यक्रममा उपस्थिति रहेको थियो ।

उक्त प्रस्ताव औपचारिक रूपमा काठमाडौंस्थित श्रीलंकाको राजदूतावासमा कार्यवाहक राजदूत चमेरीरा मुनासिंघेलाई हस्तान्तरण गरिएको छ । हस्तान्तरणसँगै दुवै देशबीच क्षेत्रीय आईसीटी सहकार्यको महत्त्वपूर्ण पाटो औपचारिक रूपमा प्रारम्भ भएको हो ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दुवै देशको सहकार्यमा नेपाल–श्रीलंका सूचना प्रविधि व्यापार परिषद् गठन गरिनेछ । उक्त परिषद् कम्प्युटर एसोसिएसन नेपाल महासंघ, श्रीलंका सफ्टवेयर सेवा कम्पनी संघ (एसएलएएसएसकम) र श्रीलंका सूचना तथा सञ्चार प्रविधि संस्था (आईसीटीए) बीचको सहकार्यमा गठन गरिनेछ । यसले कृत्रिम बुद्धिमत्ता, साइबर सुरक्षा, वित्त प्रविधि, आउटसोर्सिङ लगायतका विषयमा व्यापार मिलान र प्रविधि आदानप्रदानमा सघाउनेछ ।

यसले स्टार्टअप क्षेत्रमा संयुक्त लगानी, सह–प्रवर्द्धन र इनक्युबेसन कार्यक्रमहरूको विकासमा जोड दिनेछ । श्रीलंकाका लगानीकर्ता, उद्यम प्रवर्द्धक संस्था र सूचना प्रविधि कम्पनीहरूको सहकार्यमा कृत्रिम बुद्धिमत्ता, स्वास्थ्य प्रविधि, कृषि प्रविधि, र वित्त प्रविधि जस्ता क्षेत्रमा नेपाली नवप्रवर्तनकर्ताहरूलाई अवसर दिइनेछ ।

दुवै देशका सूचना प्रविधिसम्बन्धी सीप तथा प्रमाणपत्रहरूको पारस्परिक मान्यता प्रदान गरिनेछ, जसले प्राविधिक जनशक्तिको आवागमन सजिलो बनाउनेछ ।

आउटसोर्सिङ र जनशक्ति आदानप्रदान कार्यक्रम पनि सञ्चालन गरिनेछ । यसमा सफ्टवेयर विकास, क्लाउड कम्प्युटिङ, व्यापार प्रक्रिया सेवा (बीपीओ) र साइबर सुरक्षाको क्षेत्रमा सहकार्य गरिने क्यानले जनाएको छ ।

नेपालको एनपीसर्ट र श्रीलंकाको सर्टबीच साइबर सुरक्षा सूचना आदानप्रदान, संयुक्त प्रतिक्रिया कार्य प्रणाली र दक्षता विकास कार्यक्रम सञ्चालन गरिनेछ ।

साथै, क्यान इन्फोटेक, बी टू बी सम्मेलन, स्टार्टअप प्रदर्शनी जस्ता कार्यक्रमहरू र श्रीलंकाका व्यापार प्रदर्शनी, नीति संवाद तथा प्रविधि सम्मेलनहरूमा दुवै देशको प्रतिनिधित्व सुनिश्चित गरिनेछ ।

भविष्यमा दुवै देशको सहकार्यमा नेपाल–श्रीलंका सूचना प्रविधि नवप्रवर्तन कोष गठन गरिनेछ, जसले संयुक्त अनुसन्धान, प्रविधि विकास र व्यावसायीकरणमा सहयोग गर्नेछ ।

प्रविधिसम्बन्धी विश्वविद्यालय र अनुसन्धान संस्थाहरूबीच साझा अनुसन्धान, विद्यार्थी तथा प्राध्यापक आदानप्रदान तथा कृत्रिम बुद्धिमत्ता, ब्लकचेन, र डाटा विश्लेषण जस्ता क्षेत्रमा सहकार्य गरिने सहमति भएको छ ।

डिजिटल नीतिहरूमा समन्वय गरी डाटा सुरक्षा, डिजिटल परिचय, ई–वाणिज्य र सीमा पार डिजिटल सेवा प्रवाहमा एकरूपता ल्याइनेछ ।

दीर्घकालीन लक्ष्यको रूपमा नेपाल–श्रीलंका डिजिटल गलैचा (कोरिडोर) निर्माण गर्ने योजना छ, जसले दुवै मुलुकलाई दक्षिण एसियाको डिजिटल केन्द्रका रूपमा स्थापित गर्नेछ ।

कम्प्युटर एसोसिएसन नेपाल महासंघका महासचिव चन्द्रविलास भुर्तेलले भने, “यो साझेदारीले दुवै मुलुकको सूचना प्रविधि क्षेत्रलाई दिगो रूपमा अगाडि बढाउनेछ ।”

प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  १८:४२
प्रतिक्रिया दिनुहोस्