
काठमाडौं । काठमाडौं महानगरपालिकाका विभिन्न विद्यालयमा स्यानिटरी प्याड खरिदमा अनियमितता भएको खुलेको छ । महालेखाले सार्वजनिक गरेको प्रतिवेदनमा अनियमितता भएको खुलेको हो ।
“महानगरपालिकाले १९ हजार ९४६ छात्राहरूलाई ७२ का दरले ८६ विद्यालयका खातामा एक करोड ४३ लाख ६१ हजार १२० रुपैयाँ निकासा गरेको देखिन्छ तर विद्यालयले खरिद नियमावलीको पालना गरे नगरेको, कार्यविधिले तोकेको मापदण्डअनुसार गुणस्तरयुक्त प्याड खरिद भए नभएको एकीन गर्न सक्ने कुनै प्रमाण भएको देखिएन । लेखा परिक्षणकै अवधिसम्म पनि विद्यालयले खरिद गरेको प्रमाण पेस नभएकाले देहायका विद्यालयहरूले स्यानिटरी प्याड खरिद गरेको प्रमाण पेस गुर्नुपर्ने अन्यथा असुल गर्नुपर्ने...,” प्रतिवेदनमा भनिएको छ ।
स्यानिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधि २०७६ को बुँदा नम्बर २० (६) बमोजिम छात्राहरूको संख्याको आधारमा विद्यालयको खातामा रकम निकासा गर्न सकिने व्यवस्था छ । काठमाडौं महानगरपालिका सार्वजनिक खरिद नियमावली २०७९ को नियम ५२ मा महानगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयहरुले गर्ने सार्वजनिक खरिद यस नियमावली बमोजिम गरिनुपर्ने उल्लेख छ ।