
काठमाडौं । काठमाडौं महानगरपालिकाका विभिन्न वडा कार्यालयले मृत्यु भइसकेका १५ जनाका नाममा सामाजिक सुरक्षा भत्ता वितरण गरेको खुलेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनबाट सो कुरा खुलेको हो ।
मृत्यु भइसकेका १५ जनालाई दुई लाख ३५ हजार ५९१ रुपैयाँ भत्ता वितरण गरिएको महालेखाले जनाएको छ । महालेखाले सो रकम असुल गर्न पनि निर्देशन दिएको छ ।
सामाजिक सुरक्षा भत्ता विवरण कार्यविधि २०७७ को बुँदा नम्बर ९ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको योग्यताका सम्बन्धमा व्यवस्था छ । साथै, सामाजिक सुरक्षा नियमावली, २०७६ को नियम १३ मा सामाजिक सुरक्षा भत्ता पाइरहेका व्यक्तिको नाम हटाउने र उपनियम ४ मा ऐनविपरीत हुने गरी भत्ता लिएको पाइएमा सरकारी बाँकी सरह असुल गर्नुपर्ने व्यवस्था छ ।