
काठमाडौं । नेपाल बैंकले निजी लगानीमा सिन्धुपाल्चोकको कोदारी राजमार्गमा सञ्चालित भोटेकोसी हेली रिसोर्ट एन्ड स्पा लिमिटेडलाई कर्जा तिर्न ३५ दिने ‘अल्टिमेटम’ दिएको छ । मंगलबार (जेठ २७) सूचना प्रकाशन गरी बैंकले ३५ दिनभित्र ऋण तिर्न समय दिएको हो ।
रिसोर्टले लिएको ऋणको साँवा तथा त्यसको ब्याज नियमित भुक्तानी नगरेपछि अन्तिमपटक मौका दिएको बैंकले जनाएको छ । “कर्जा असुलीका लागि पटक–पटक ताकेता, सम्पर्क र पत्राचार गर्दा पनि अनुरोधलाई बेवास्ता गरी नतिरेकाले आउँदो ३५ दिनभित्र कर्जा चुक्ताका लागि अन्तिम मौका दिइएको छ,” बैंकले भनेको छ ।
उक्त म्यादभित्र पनि कर्जा चुक्ता नगरे रिसोर्टका सञ्चालक र सेयरधनीको नाम कालोसूचीमा समावेश गर्न ३५ दिने म्याद आजैदेखि सुरु भएको बैंकले जनाएको छ ।
रिसोर्ट सञ्चालकले ३५ दिनभित्र कर्जाबापतको रकम भुक्तान नगरे व्यक्तिगत र संस्थागत धनजमानीकर्तालाई ९० दिनभित्र त्यो तिर्न समय दिइएको छ ।
तोकिएको समयभित्र ऋण चुक्ता नगरे ऋणीको घरघराना र अरू जायजेथा खोजी असुल गर्ने, कर्जा सूचना केन्द्र लिमिटेडको कालोसूचीमा राख्ने तथा कानुनी प्रक्रिया अपनाई बैंकको सम्पूर्ण रकम असुल गर्नेतर्फ आवश्यक कारबाही अगाडि बढाइने बैंकले चेतावनी दिएको छ ।
रिसोर्टका अध्यक्ष चीनबहादुर रानाभाट हुन् । सञ्चालकमा छिरिङ शेर्पा, सुवास प्रधान र समिरकुमार नेपाल रहेका बैंकले जनाएको छ ।
भोटेकोसी हेली रिसोर्ट ०७८ सालदेखि सञ्चालित छ । रिसोर्टको क्षमता चारतारेस्तरसम्म बनाउने तयारी थियो । गत वर्ष जेठमा रिसोर्टले विज्ञप्ति जारी गरी नबिल इन्भेस्टमेन्ट बैंक लिमिटेडसँग सम्झौता गरिएको जनाएको थियो ।
रिसोर्टको स्तरोन्नतिका साथै विभिन्न रणनीतिक योजना कार्यान्वयनका निम्ति रिसोर्टले नबिलसँग व्यावसायिक सम्झौता गरेको थियो । नबिलले भोटेकोसी हेलीको साधारण सेयर (आईपीओ) निष्कासनमा सहयोग गर्ने उल्लेख थियो ।