site stats
बाह्रखरी :: Baahrakhari
विदेश
हनिमुन गएका बेला पतिको हत्या गरेको आरोपमा पत्नी पक्राउ

काठमाडौं । भारतको इन्दौरका राजा रघुवंशी र सोनम रघुवंशीको विवाह मे ११ मा भएको थियो र उनीहरू हनिमुनका लागि मे २० मा घरबाट मेघालयका लागि निस्केका थिए । तर मे २३ मा उनीहरू बेपत्ता भए । 

हराइरहेका नवविवाहित जोडीमध्ये राजा रघुवंशीको शव जुन २ मा पूर्वी खासी हिल्समा फेला पर्‍यो । पतिको शव फेला परेको एक हप्तापछि उनकी हराइरहेकी पत्नी सोनम गाजीपुरमा फेला परिन् । 

मेघालयको पूर्वी खासी पहाडी जिल्ला उत्तर प्रदेशको गाजीपुर जिल्लाबाट एक हजार किलोमिटरभन्दा टाढा छ । यस घटनामा मेघालय, मध्य प्रदेश र उत्तर प्रदेशका प्रहरीको फरक–फरक दाबी आएको छ । 

Argakhachi Cement Island Ad

इन्दौरका यी दम्पती राजा र सोनम हनिमुन मनाउन मेघालय गएका थिए । त्यसपछि उनीहरूको बेपत्ता भएको खबर बाहिर आयो । अहिले सोनम रघुवंशी प्रहरी हिरासतमा छिन् । मेघालय प्रहरीले उनलाई ‘हत्यामा संलग्न’ भएको आरोप लगाइरहेको छ । तर, सोनमको परिवारले उनलाई ‘निर्दोष’ भन्दै आएको छ ।

तर, केही प्रश्नहरूको उत्तर अझै फेला परेको छैन । उदाहरणका लागि, सयौँ किलोमिटर टाढा मेघालयबाट सोनम कसरी उत्तर प्रदेशको गाजीपुर पुगिन् र धेरै दिनदेखि बेपत्ता सोनमसम्म प्रहरी कसरी पुग्यो ? 

मे २३ देखि हराइरहेका राजाको शव जुन २ मा मेघालयको पूर्वी खासी हिल्सको वेइसाडोङ फल्सनजिकै १५० फिट गहिरो खोंचमा फेला परेको थियो । पूर्वी खासी हिल्स जिल्लाका प्रहरी उपरीक्षक (एसपी) विवेक सायनमले पत्रकारहरूलाई भने, “मेघालय प्रहरी टोली त्यहाँ (गाजीपुर) पुगेपछि, उनीहरूले उनलाई (सोनम रघुवंशी) पक्राउ गर्नेछन् ।”

उत्तरप्रदेश प्रहरीले पनि सोनमलाई मेघालय प्रहरीलाई बुझाउने बताएको छ।

हत्यामा सोनमको कुनै भूमिका छ ? 

यस प्रश्नको जवाफमा एसपी विवेक सायम भन्छन्, “हो, त्यस्तै देखिन्छ । मेघालय प्रहरीका दुई टोली मध्यप्रदेशमा छन् र एउटा टोली सोनमलाई पक्राउ गर्न उत्तर प्रदेश जाँदै छ ।”

सोनमका बुबा देवी सिंहले मेघालय प्रहरीले आफूलाई गुमराहमा राखेको आरोप लगाएका छन् । उनले आफ्नी छोरी ‘निर्दोष’ रहेको दाबी गरेका छन् । 

यसैबीच, मेघालय प्रहरीले जब तीनजनालाई पक्राउ गर्‍यो, त्यसपछि सोनम अगाडि आइन् । यसले आफैँमा सबै कुरा बोल्ने प्रहरीको भनाइ छ । सोनम रघुवंशीको परिवारले यस विषयमा सीबीआई अनुसन्धानको माग गरिरहेका छन् ।

सोनम रघुवंशीको खोजी विगत १७ दिनदेखि जारी थियो । मेघालय प्रहरीले राजाको शव नजिकै रातो र कालो रेनकोट फेला पारेको थियो । यो रेनकोट र होटेल बाहिरको सीसीटीभी फुटेजबाहेक सोनमको बारेमा कुनै जानकारी उपलब्ध थिएन ।

सोनमका बुबा देवी सिंहले भने, “जुन ८ को अबेर राति, सोनमका भाइ गोविन्द सिंहलाई उत्तर प्रदेशबाट फोन आयो । सोनमले गाजीपुरको एउटा ढाबाबाट फोन गरेकी थिइन् । त्यसपछि हामीले प्रहरीलाई खबर गर्‍यौँ ।” 

काशी ढाबा गाजीपुरको नन्दगन्ज प्रहरी चौकी क्षेत्रअन्तर्गत राष्ट्रिय राजमार्गमा अवस्थित छ । गाजीपुर प्रहरीले सोनमलाई पक्राउ गरेको जनाएको छ ।

गाजीपुरका प्रहरी अधीक्षक डा. इराज राजाले पत्रकारहरूलाई भने, “सोनमको फोनपछि सोनमको परिवारले मध्य प्रदेश प्रहरीलाई जानकारी गरायो । यसपछि, मध्य प्रदेश प्रहरीले गाजीपुर प्रहरीलाई सम्पर्क गर्‍यो र त्यसपछि सोनमलाई ढाबाबाट पक्राउ गरी वान स्टप सेन्टरमा लगियो ।”

काशी ढाबाका सञ्चालक साहिल यादवले स्थानीय प्रहरीलाई जानकारी गराएको दाबी गर्छन् । मिडियासँग कुरा गर्दै साहिल यादवले भने, “सोनमले आफ्नो परिवारलाई फोन गर्न मेरो फोन मागेकी थिइन् । फोनमा आफ्नो परिवारसँग कुरा गर्दागर्दै उनी रुन थालिन् । केही समयपछि उनको भाइले मलाई फोन गरेर स्थानीय प्रहरीलाई खबर गर्न भने । राति करिब २ः३० बजे प्रहरी यहाँ आइपुग्यो र उनलाई लग्यो ।

साहिलले सोनमलाई उनी यहाँ कसरी आइपुगिन् भनेर सोध्दा सोनमले कुनै जवाफ नदिएको उनले बताए । 

इन्दौरका प्रहरी उपायुक्त (अपराध) राजेश दण्डोटियाले बीबीसीलाई भने, “हिजो राति शिलोङ प्रहरीमार्फत गाजीपुर प्रहरीले सोनम रघुवंशीलाई पक्राउ गरेको जानकारी प्राप्त भयो । शिलोङ प्रहरीले इन्दौरलाई सम्पर्क गरेको थियो र तीनजना संदिग्ध व्यक्तिको बारेमा रिपोर्ट गरिएको थियो । इन्दौर प्रहरी र शिलोङ प्रहरीले संयुक्त अपरेसन गर्दै तीनैजनालाई पक्राउ गरेको थियो ।

अहिले शिलोङ प्रहरीले हिरासतमा लिइएका मानिसहरूलाई सोधपुछ गरिरहेको छ । 

यसैबीच, मेघालयका डीजीपी आई नोंगराङले समाचार एजेन्सी पीटीआईलाई भने, “इन्दौरका पुरुषको हत्याको सम्बन्धमा उनकी श्रीमतीसहित चारजनालाई पक्राउ गरिएको छ । श्रीमतीले हनिमुनको समयमा हत्याको षड्यन्त्र रचेको र त्यसलाई कार्यान्वयन गर्न अरूको सहयोग लिएको आरोप छ ।’

प्रकाशित मिति: सोमबार, जेठ २६, २०८२  २१:३९
प्रतिक्रिया दिनुहोस्