
काठमाडौं । अमेरिकी रक्षामन्त्री पिट हेगसेथले चीनले ताइवानप्रति सन्निकट खतरा उत्पन्न गरिरहेको चेतावनी दिएका छन् । उनले एसियाली देशलाई रक्षा खर्च बढाउन र युद्ध रोक्न अमेरिकासँग सहकार्य गर्न आग्रह गरेका छन् ।
शनिबार सिंगापुरमा आयोजित एक उच्चस्तरीय एसियाली रक्षा सम्मेलन ‘सांग्रिला संवाद’मा उनले अमेरिकाले चीनमाथि प्रभुत्व जमाउने प्रयास नगर्ने बताए । तर, अमेरिका एसियाबाट नहट्ने उनले स्पष्ट पारे । उनले अमेरिकाले आफ्ना मित्रराष्ट्रलाई चीनको पेलाइमा पर्न नदिने पनि बताए ।
यसको प्रत्युत्तरमा चीनले अमेरिका क्षेत्रीय शान्तिका निम्ति सबैभन्दा ठूलो उपद्रवकर्ता भएको आरोप लगाएको छ ।
चीनले ताइवानमा आक्रमण गरे स्थिरता संकटमा पर्न सक्ने एसियाली मुलुकमा चिन्ता बढ्दै गएको छ । ताइवानलाई चीनले आफ्नो भूभाग दाबी गर्दै आएको छ । तर, बल प्रयोग नगर्ने प्रतिबद्धता दिएको छैन ।
सांग्रिला संवादमा हेगसेथले चीनलाई प्रभुत्वशाली शक्ति बन्ने आकांक्षा राख्ने देशका रूपमा चित्रण गरे । चीनले एसियाका धेरै क्षेत्र नियन्त्रण गर्न खोजिरहेको उनले बताए ।
दक्षिण चीन सागरमा चीनले गरेको आफ्नो दाबीका कारण धेरै छिमेकीसँग विवाद छ । हेगसेथ भने, “चीनले एसियामा शक्ति सन्तुलन परिवर्तन गर्न सैन्य बल प्रयोगका निम्ति विश्वसनीय रूपमा तयारी गरिरहेको छ ।”
उनले चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् २०२७ सम्ममा आफ्नो देशको सेना ताइवानमा हमला गर्न सक्षम हुने गरी तयार पार्ने समयसीमा दिएको जिकिर गरे ।
उक्त समयसीमा अमेरिकी अधिकारी र सेनापतिले वर्षौंअघिदेखि उल्लेख गर्दै आएका छन् । तर, चीनले कहिल्यै औपचारिक रूपमा यसलाई पुष्टि गरेको छैन ।
हेगसेथले भने, “चीन यसका निम्ति आवश्यक सैन्य तयारी गर्दै छ, त्यसको अभ्यास गर्दै छ । र, वास्तविक हमला गर्न अभ्यास गर्दै छ ।”
उनले अगाडि भने, “म के स्पष्ट भन्न चाहन्छु भने, यदि कम्युनिस्ट चीनले बल प्रयोग गरेर ताइवान कब्जा गर्ने प्रयास गर्यो भने त्यसको परिणाम इन्डो–प्यासिफिक क्षेत्र र विश्वका निम्ति विनाशकारी हुनेछ । यसलाई सजिलो शब्दमा भन्न सकिन्न । चीनको खतरा वास्तविक हो । र, यो निकट भविष्यमा पनि हुनसक्छ । हामी आशा गर्छौं कि यस्तो नहोस्, तर त्यस्तो हुन सक्ने सम्भावना भने अवश्य छ ।”
हेगसेथले थपे, “अमेरिकाले चीनसँग युद्ध वा द्वन्द्व खोजिरहेको छैन ।”
“हामी चीनलाई घेराबन्दी गर्ने, उक्साउने वा शासन परिवर्तनको प्रयास गर्ने चाहना राख्दैनौँ... तर हामीले के निश्चित गर्नुपर्छ भने चीनले हामीलाई वा हाम्रा मित्रराष्ट्रहरूलाई नियन्त्रण गर्न नपाओस्,” उनले भने, “हामी यस महत्त्वपूर्ण क्षेत्रबाट हट्ने छैनौँ ।”
यसको प्रत्युत्तरमा सिंगापुरस्थित चिनियाँ दूतावासले आफ्नो फेसबुक पेजमा एक टिप्पणी पोस्ट गरेको छ । त्यसमा हेगसेथको भाषणलाई ‘उक्साहट र उत्तेजनाले भरिपूर्ण’ भनिएको छ । र, हेगसेथले बारम्बार चीनलाई बदनाम गरेका र कथित ‘चीन खतरा’को ‘न्यारेटिभ’लाई अत्यधिक प्रचार गरेका आरोप लगाइएको छ । बीबीसीबाट ।