
वीरगन्ज । अस्पतालको अति संवेदनशील स्थान हो, आईसीयू र सीसीयू कक्ष । नारायणी अस्पतालको त्यही अति संवेदनशील आईसीयू र सीसीयू कक्षमा करिब दुई घण्टा ३० मिनेट विद्युत् सेवा अवरुद्ध भयो ।
उक्त अस्पतालको सो कक्षमा शुक्रबार (जेठ १६) राति १०ः३० देखि शनिबार (जेठ १७) बिहान १ः०० बजेसम्म विद्युत् आपूर्ति विच्छेद भएको थियो । अस्पताल प्रशासन तथा व्यवस्थापनले समयमा ध्यान नदिँदा विद्युत् सेवा अवरुद्ध भएको जनाइएको छ ।
उक्त समयमा अस्पतालको आईसीयू र सीसीयू शय्यामा १७ बिरामी उपचाररत थिए । चिकित्सक र नर्सिङ स्टाफले आवश्यक समन्वय र सावधानी अपनाउँदा ती बिरामी जोगिए । विद्युत् अवरुद्ध भएपछि चिकित्सक र नर्सले मोबाइल ‘लाइट’ बालेर उपचार गरेका थिए ।
यसैबीच, जिल्ला प्रशासन कार्यालयले नारायणी अस्पतालको आईसीयू र सीसीयूजस्तो संवेदनशील कक्षमा शुक्रबार राति विद्युत् आपूर्ति विच्छेद भएको घटनालाई गम्भीरतापूर्वक लिएको छ ।
प्रशासनले विद्युत् आपूर्तिमा हेलचेक्र्याइँ गर्ने सम्बन्धित कर्मचारीलाई आन्तरिक छानबिन गरेर आवश्यक कारबाही गर्न निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र पर्साका प्रहरी प्रमुख गौतम मिश्रले शनिबार नारायणी अस्पताल विकास समितिका अध्यक्ष, निमित्त मेडिकल सुपरिटेन्डेन्ट, प्रशासन प्रमुख, त्यहाँका विभिन्न विभाग तथा कक्षमा कार्यरत चिकित्सक, नर्सिङ स्टाफ, इलेक्ट्रिसियनलगायत सबै निकायका पदाधिकारी तथा कर्मचारीसँग शनिबार संयुक्त बैठक गरेर संवेदनशील क्षेत्रमा गम्भीर हुन कडा निर्देशन दिए ।
“अस्पतालको आईसीयू र सीसीयूजस्तो संवेदनशील ठाउँमा साढे दुई घण्टा विद्युत् अवरुद्ध हुनु निकै गम्भीर विषय हो,” प्रजिअ अर्यालले भने, “तपाईंहरूका कारणले कुनै बिरामीको ज्यान जोखिममा परेको भए जिम्मेवारी लिने कसले हो ? हिजोको विषम घटनाबाट पाठ सिक्दै आगामी दिनमा यस्ता खालका कुनै पनि गल्ती र कमजोरी नदोहोर्याउनका लागि निर्देश गर्दछु । जनताको स्वास्थ्यजस्तो कुरामा कसैले पनि खेलवाड गर्न पाइँदैन ।”
प्रहरी प्रमुख मिश्रले अस्पताल प्रशासनले इलेक्ट्रिसियनलगायत कर्मचारीलाई २४सै घण्टा डिउटीमा खटाउन अनुरोध गरे । “अस्पतालको सघन कक्षमा बिजुली कटौती हुँदा इलेक्ट्रिसियन उपलब्ध नहुनु पनि गम्भीर विषय हो,” उनले भने ।
डिउटीमा खटिने कर्मचारी शारीरिक र मानसिक रूपमा स्वस्थ हुनुपर्ने र आफ्नो जिम्मेवारी सम्हानुपर्ने उनले बताए ।
नारायणी अस्पताल विकास समितिका अध्यक्ष धीरजकुमार गुप्ताले शुक्रबार रातिको घटना गम्भीर प्रकृतिको भएको उल्लेख गरे । आउँदा दिनमा त्यस्ता खालका घटना दोहोरिन नदिने उनले प्रतिबद्धता व्यक्त गरे ।
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट चित्ररञ्जन साहले आईसीयू र सीसीयू कक्षमा कमजोर प्रकृतिको वायरिङको कारणले उक्त घटना भएको जिकिर गरे । उनले भने, “अस्पताल प्रशासनले आईसीयूमा भएका दुईजना सिकिस्त प्रकृतिका बिरामीलाई अर्काे अस्पतालमा पठाउने तयारी गर्दागर्दै विद्युत् आएसँगै पठाउन परेन ।” रासस