
काठमाडौं । तेस्रो इन्डो–नेपाल युथ पोल ब्रेक च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ । शनिबार काठमाडौंको गोकर्णेश्वरमा सम्पन्न च्याम्पियनसिपमा भारतलाई पराजित गर्दै नेपालले उपाधि हात पारेको हो ।
नेपालका तर्फबाट गोरखा पोल ब्रेक संघ गोकर्णेश्वर शाखाले प्रतिनिधित्व गरेको थियो र उत्कृष्ट प्रदर्शन गर्दै गोकर्णेश्वर च्याम्पियन बनेको हो । गोकर्णेश्वर शाखा प्रारम्भिक चरणमा भारतको दोस्रो टिम अनुपस्थित रहेकाले ‘बाई’ पाएर सिधै फाइनलमा प्रवेश गरेको थियो ।
फाइनलमा गोकर्णेश्वरले नेपालकै दोस्रो टिम नेक्सस एकेडेमीलाई ३४–१० अंकले पराजित गर्दै उपाधि जित्यो ।
त्यसअघि, सेमिफाइनलमा नेक्सस एकेडेमीले भारतको टिमलाई १८–७ को अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको थियो ।
च्याम्पियनसिप नेपाल पोल ब्रेक संघ केन्द्रको आयोजनामा र गोकर्णेश्वर शाखाको सह–आयोजनामा सम्पन्न भएको हो ।
गोकर्णेश्वर शाखाका संयोजक जगद मोक्तानले प्रतियोगिताबारे जानकारी दिएका थिए ।
केन्द्रीय अध्यक्ष एवं च्याम्पियनसिप संयोजक उद्धवनारायण श्रेष्ठका अनुसार नेपालमा स्थापना भएको पोल ब्रेक खेललाई भारतमा विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
त्यसैदिन सम्पन्न कबड्डी प्रतियोगितामा भने भारतले नेपालको टिमलाई १८–१७ को झिनो अन्तरले पराजित गर्दै उपाधि जितेको छ ।
प्रतियोगिताका विजेता टिम तथा खेलाडीहरूलाई गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक कुमार रिसाल र गोरखा पोल ब्रेक संघका प्रमुख सल्लाहकार रमेश महर्जनले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए ।
च्याम्पियनसिपमा नेपालका दुई टिम र भारतको एक टिमको सहभागिता रहेको थियो ।