site stats
बाह्रखरी :: Baahrakhari
विदेश
गाजामा चरम भोकमरी, खाद्य सहयोगका ८० वटा ट्रक लुटिए

काठमाडौं । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले शनिबार गाजाको दक्षिणी र मध्य भागमा खाद्यान्न बोकेर गुडिरहेका लगभग ८० वटा सहयोग ट्रकहरू लुटिएको बताएको छ । खाद्यान्न अभाव झेलिरहेका गाजाका नागरिकहरूले सहयोगका लागि गएका ट्रक लुटेका हुन् । 

यसैबीच प्यालिस्टिनी क्षेत्रमा भोकमरीको अवस्था बढ्दै गएको डब्ल्यूएफपीले बताएको सीएनएनले जनाएको छ । सामाजिक सञ्जाल एक्समा जारी एक बयानमा, डब्ल्यूएफपीले ७७ ट्रकहरूमा खाद्यान्न लोड गरेर गाजामा प्रवेश गरेको आँटा लुटिएको बताएको छ । ती ट्रकहरू भोकाएका मानिसहरूद्वारा लुटिएको बताइएको छ । मुख्यतः आफ्नो परिवारको भोक मेटाउन खोज्नेहरूले बाटोमा रोकेर खाद्यान्नको ट्रक लुटेका थिए । 

Argakhachi Cement Island Ad

“८० दिनको पूर्ण नाकाबन्दीपछि, समुदायहरू भोकमरीको अवस्थामा छन् र उनीहरू अब खाद्यान्न आफ्नो बस्ती अगाडिबाट जान दिन तयार छैनन्,” डब्ल्यूएफपीले भनेको छ ।

निजी ट्रक यातायात संघका प्रमुख नाहेद शेहाइबारले गाजाको मध्यभाग नेत्जारिमनजिकै आटा लोड गरिएका २० ट्रकहरू र दक्षिणी गाजाको खान युनिसमा लगभग ५० आटा ट्रकहरूको सामान खोसिएको बताए ।

डब्ल्यूएफपीले शनिबार एक्समा एक पोस्टमा भनेको थियो, “गाजामा मानवीय अवस्था बिग्रँदै छ । सीमा बन्द, भोक, र निराशाले सहयोग वितरण अस्थिर बनाएको छ । ट्रकहरू लुटिएका छन्, मानिसहरू एक थैलो आटाका लागि सबै जोखिम उठाउन तयार देखिएका छन् ।”

पोस्टमा भनिएको छ, “आशा फर्काउन, डर कम गर्न र अर्को अराजकता रोक्न हामीले समुदायहरूलाई अहिले नै व्यापक मात्रामा खाद्यान्न प्रदान गर्नुपर्छ ।”

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  ०७:२९
प्रतिक्रिया दिनुहोस्