site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रन्जिताले दलको नेता आफू रहेको पठाइन् पत्र, ४५ दिनमै सत्तापक्षमा बस्ने निर्णय किन ?
फाइल तस्बिर ।

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले ४५ दिनमै सदनमा विपक्षीबाट सत्तापक्षको सिटमा सर्न निवेदन दिएको छ । नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठले सत्तालाई समर्थन रहेको भन्दै सत्तापक्षमा बस्ने जानकारीको पत्र सभामुख देवराज घिमिरेलाई पठाएकी छन् । 

उनले असार २२ गते सरकारको समर्थन फिर्ता लिने भनी पठाइएको पत्र बदर भएको र सरकारप्रति समर्थन रहेको जनाएकी छन् । 

“सरकारबाट समर्थन फिर्ता लिने भनी संसद् सचिवालयमा समेत जानकारी गराएको बेहोरासहितको पत्र बदर गरी पार्टीको निर्णयबमोजिम वर्तमान सरकारमाथि पूर्णकालीन विश्वास एवं समर्थन रहेको जानकारी गराउँदै अब सरकार पक्षतर्फ रहने बेहोरासमेत अनुरोध गरिएको छ,” रन्जिताले पठाएको पत्रमा भनिएको छ ।

साथै श्रेष्ठले दलको नेतामा आफू नै रहेको विवरण अभिलेखीकरका लागि पत्र पठाएकी छन् । “...मा. गंगाराम चौधरी पार्टीको केन्द्रीय कार्यसमिति पदाधिकारी तथा संसदिय दलको भूमिकामा नरहने गरी मिति २०८२।०४।३० गते कारबाही गरेको हुँदा यस पार्टीको संसदीय दलको नेताको पद रिक्त भएकामा यस नागरिक उन्मुक्ति पार्टीको निर्णयअनुसार पार्टी अध्यक्ष स्वयंले संसदीय दलको नेताको भूमिकासमेत निर्वाह गर्ने बेहोरा जानकारी गराईन्छ,” पत्रमा भनेकी छन् । 

उनले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा २५ बमोजिम संसदीय दलको नेताको नयाँ विवरण अभिलेखीकरण गर्नसमेत अनुरोध गरेकी हुन् । 

उनको पत्रबारे निर्णय हुन बाँकी छ । 

पार्टीमा विवाद हुँदा रन्जितालाई हटाएर गंगाराम दलको नेता बनेका थिए । निर्वाचन आयोगले रन्जिता नै अध्यक्ष रहेको निर्णय गरेपछि उनले दलको नेताबाट गंगारामलाई हटाएकी हुन् । 

फेरि सत्तामा बस्ने निर्णय किन ? 
नाउपाले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री अरूण कुमार चौधरीलाई राज्यमन्त्रीबाट हट्न निर्देशन दिएको थियो । मन्त्री चौधरीले राजीनामा दिएको भने पनि मन्त्रालयको वेबसाइटमा उनकै नाम कायम छ । तर, उनी मन्त्रालय गएका छैनन् । 

“४५ दिनअघि प्रतिपक्षमा बस्ने भनेर संसदीय दलको नेताको तर्फबाट गंगाजीले संसद् सचिवालयमा पत्र लेख्नुभयो । प्रतिपक्षमा सिट पनि व्यवस्था भयो,” उनी भन्छिन्, “त्यही दिनदेखि सांसदहरू गायब हुनुहुन्छ । राज्यमन्त्रीले राजीनामा नदिएको विषयमा पत्रकारहरूले मलाई सोध्नुहुन्छ । मैले के जवाफ दिने ?”

सांसदहरूले हाजिरमात्रै गरेर संसद्‌मा नबसेपछि सत्तापक्षमै बस्न रुचाएको भन्ने लागेर पत्र पठाइएको उनको भनाइ छ ।

“मलाई के लाग्यो भने साथीहरू त सत्तापक्षमा नै बस्न रुचाउनुहुने रहेछ । सोहीअनुसार सत्तापक्ष नै बस्ने भन्नेमा पुगिएको हो,” उनले भनिन् । 

राज्यमन्त्री चौधरीले राजीनामा गोजीमा राखेर दिएको भनिएको आशंका उनको छ ।

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  १७:०५
प्रतिक्रिया दिनुहोस्