site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्री ओलीले एक महिनामा तीन शक्तिशाली राष्ट्रको भ्रमण गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली एक महिनाकै अवधिमा विश्वका तीन शक्तिशाली राष्ट्रको भ्रमणमा जाँदै छन् ।  उनले यही भदौ १४ गतेदेखि असोज ७ गतेसम्मको अवधिमा चीन, भारत र अमेरिकाको भ्रमण गर्नेछन् ।

“प्रधानमन्त्री ओली अबको केही साताभित्र कूटनीतिका हिसाबले नेपालले सबैभन्दा बढी प्राथमिकतामा राखेका तीन देश चीन, भारत र अमेरिकाको भ्रमण गर्दै हुनुहुन्छ,” परराष्ट्र मन्त्रालय स्रोतले बाह्रखरीसँग भन्यो, “हामी प्रधानमन्त्रीले गर्ने तीन देशको भ्रमणको तयारीमा जुटेका छौं ।” 

ओली सबैभन्दा पहिला चीन भ्रमणमा जाने कार्यक्रम छ । उनी सांघाई सहयोग संगठन (एससीओ)को २५औं शिखर सम्मेलनमा सहभागी हुन चीन जान लागेका हुन् । 

सांघाई सहयोग संगठनको शिखर सम्मेलन भदौ १५ देखि १६ सम्म चीनको तियानजीमा हुँदैछ । सम्मेलनमा संगठनका सदस्य राष्ट्रहरूका सरकार प्रमुखहरू सहभागी हुनेछन् । 

“प्रधानमन्त्री ओली भदौ १४ वा १५ गतेमध्ये एक दिन चीन प्रस्थान गर्नेगरी तयारी भइरहेको छ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।

एससीओको सम्मेलनमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि चीन जाँदैछन् । 

स्रोतका अुनसार, सम्मेलनको साइडलाइनमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, अन्य देशका सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् ।

सांघाई सहयोग संगठन सन् २००१ जुन १५ मा काजाकिस्तान, चीन, किर्गिज, रूस, ताजिकिस्तान र उज्बेकिस्तानद्वारा स्थापित एक स्थायी अन्तरसरकारी अन्तर्राष्ट्रिय संगठन हो । सांघाईमा खुलेको हुँदा ‘सांघाई सहयोग संगठन’को नाम दिइएको हो ।

उक्त संस्थामा हाल भारत, इरान, काजाकिस्तान, चीन, किर्गिस्तान, पाकिस्तान, रुस, ताकिकिस्तान र उब्बेकिस्तान गरी ९ सदस्य छन् । संगठनमा अफगानिस्तान, बेलारुस र मंगोलिया गरी तीन राष्ट्र पर्यवेक्षक छन् । 

संगठन नेपाल, अजरबैजान, अर्मेनिया, बहराइन, इजिप्ट, कम्बोडिया, कतार, कुवेत, माल्दिभ्स, म्यानमार, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया, टर्की र श्रीलंका गरी १४ राष्ट्र ‘डायलग पार्टनर’ छन् ।

प्रधानमन्त्री ओलीले यसअघि गतवर्ष मंसिर महिनामा चीनको औपचारिक भ्रमण गरेका थिए । 

चीन भ्रमणबाट फर्केपछि प्रधानमन्त्री ओलीको भारत भ्रमण गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओलीले भदौ ३० देखि असोज १ गतेसम्म भारतको भ्रमण गर्नेगरी अहिले परराष्ट्र मन्त्रालयले तयारी गरिरहेको छ । 

भारतीय विदेश सचिव विक्रम मिस्रीको दुई दिने नेपाल भ्रमणको समयमा प्रधानमन्त्री ओलीको तीन दिने भारत भ्रमण तय भएको हो ।  भारतीय विदेश सचिव मिस्री दुई दिने नेपालको औपचारिक भ्रमण सम्पन्न गरी सोमबार स्वदेश फर्केका थिए । 

“विगतमा पहिलो राजधानी नयाँ दिल्ली जाने परम्परा तोड्दै यसपटक प्रधानमन्त्री ओली काठमाडौंबाट चाटर्ड उडानमा सिधै बिहार राज्यको बोधगया जाने कार्यक्रम छ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो । 

सबै द्विपक्षीय भेटवार्ता बोधगयामा गर्नेगरी दुई देशबीच छलफल अघि बढिरहेको स्रोतले जनायो । भारतीय प्रधानमन्त्री मोदीसँग बोधगयामै प्रधानमन्त्री ओलीले भेटवार्ता गर्ने कार्यक्रम छ । 

प्रधानमन्त्री ओलीको भारत भ्रमणका बखत दुई देशबीच ‘सुपुर्दगी सन्धि’ नहुने दाबी स्रोतको छ । “सुपुर्दगी सन्धि भारतको प्राथमिकतामा छ । तर, नेपालले प्राथमिकतामा राखेको छैन,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो । 

प्रधानमन्त्री ओलीको भारत भ्रमणका बेला नेपाल र भारतबीच पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौतापत्रमा भने हस्ताक्षर हुनेछ । “पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्न दुवै पक्ष सहमत भइसकेको अवस्था छ,” परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।

गत जुलाईमा भारतको नयाँ दिल्लीमा भएको दुई देशका गृह सचिवस्तरीय बैठकले आपराधिक मामिलामा पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौताको मस्यौदालाई अन्तिम रूप दिएको थियो । 

नेपाल र भारतबीच सुपुर्दगी सन्धि र पारस्परिक कानुनी सहायतासम्बन्धी सम्झौता नहुँदा आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिलाई सुम्पन कठिनाई हुँदै आएको थियो । 

प्रधानमन्त्री ओली २०८१ असार ३१ गते प्रधानमन्त्री भएपछि गर्न लागेको यो पहिलो भारत भ्रमण हो । यसबीचमा उनले भारत भ्रमण नगरे पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भने दुई पटक भेटवार्ता भएको छ । 

गतवर्ष संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने क्रममा अमेरिकाको न्यूयोर्कमा र बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुने क्रममा थाइल्याण्डको बैंककमा उनीहरूबीच भेटवार्ता भएको थियो ।

भारत भ्रमणबाट फर्केपछि प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको ८०आँै महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क जाने कार्यक्रम छ । महासभा भदौ २४ गतेबाट सुरु हुने भएपछि उच्चस्तरीय पाहुनाहरूको सहभागिता र सम्बोधन असोज ७ गतेबाट सुरु हुनेछ ।

उच्चस्तरीय पाहुनाको रूपमा प्रधानमन्त्री ओलीले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्नेछन् । न्यूयोर्कमा नै प्रधानमन्त्री ओली अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले उच्चस्तरीय पाहुनाको सम्मानमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन् ।

उक्त भोजमा सहभागी हुने क्रममा प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपतिबीच संक्षिप्त भेटवार्ता हुनेछ । 

“नेपालले आफ्नो वैदेशिक सम्बन्धको प्राथमिकतामा राखेका प्रमुख तीन देश भारत, चीन र अमेरिका हुन् । यी तीनै देशको भ्रमण प्रधानमन्त्री गर्दै हुनुहुन्छ । यसले हाम्रो वैदेशिक सम्बन्ध र कूटनीतिक क्षमतालाई मजबुत बनाउने विश्वास हामीले लिएका छौं,” परराष्ट्र स्रोतले भन्यो ।
 

प्रकाशित मिति: बुधबार, भदौ ४, २०८२  १३:२१
प्रतिक्रिया दिनुहोस्