
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई सहयोग पुग्ने गरी आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले शनिबार काठमाडौंमा आयोजना गरेको पोस्ट बजेट छलफलमा उनले नेपालीलाई विदेशमा लगानी गर्न दिने निर्णय ऐतिहासिक भएको बताए ।
नेपालीलाई विदेशमा लगानी गर्न दिने विषय निकै महत्वपूर्ण र ऐतिहासिक भएको उनको भनाइ छ । समग्रमा निजी क्षेत्रलाई प्राथमिकता दिएर बजेट आएको उनको भनाइ छ ।
राम्रो निर्णय लिन निजी क्षेत्र सरकारको साथमा रहेको उनले बताए । अब साधनस्रोत परिचालन गर्ने ठाउँमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।
उनले खनिजजन्य र नदीजन्य पदार्थको उत्खनमा पनि ध्यान दिनु पर्ने आवश्यकता रहेको बताए । केही समयका लागि आलोचना भए पनि लामो समयसम्म सकारात्मक प्रभाव पर्ने निर्णय गर्न सरकार डराउन नहुने उनको भनाइ छ ।
पर्यटन क्षेत्रमा प्राथमिकता दिइएकोमा उनले खुसी व्यक्त गरे । तर, टीडीएस र करले गर्दा पर्यटकको लागत बढेको हुँदा यसमा पनि सहज बनाउन आवश्यक रहेको उनले बताए ।
बजेटमार्फत लगानी बोर्डलाई शक्तिशाली बनाएकोमा खुसी व्यक्त गर्दै उनले लगानीकर्तालाई एकद्वाभन्दा पनि झन्झटिलो प्रक्रियाबाट मुक्त गराउनुपर्ने बताए ।
उनले मौद्रिक नीति र बजेटबीच तालमेल मिलेमा उचित नतिजा आउने धारणा राखे ।