
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले युवामा आएको नैराश्यका कारण नेकपा (एमाले)को जुलुसभन्दा राजावादीको जुलुस ठूलो भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता कोइरालाले अहिलेका नेताहरूको आचरण लोकतान्त्रिक गणतन्त्रको नभएको बताए ।
उनले राजनीतिमा नैतिकताको धरातल कमजोर भए राजनीतिको जड हल्लिने बताए । राजनीति गर्दा नैतिकवान भएर गर्नुपर्ने उनको सुझाव छ ।
"राष्ट्रिय प्रजातन्त्र पार्टीको जुलुसभन्दा एमालेको जुलुस किन कमजोर भयो ? किनभने हाम्रो आचरण लोकतान्त्रिक गणतन्त्रको आचरण नै भइरहेको छैन । युवाहरूमा नैराश्य छ । उनीहरूले बाटो खोजिरहेका छन् । उनीहरूले राजाको शासनकाल कस्तो थियो, उनीहरूले त यही चार जनाको म्युजिकल चियर देखेका छन् । अनि उनीहरू कहाँ जाने ? हामीले असल काम गरेर युवाहरूको मन जित्न सक्नुपर्छ," उनले भने ।
उनले सरकारले गरेका गलत कामलाई गलत भन्न सक्नुपर्ने पनि बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति उत्तेजित भएकैले आफूले गलत भनेको उनको भनाइ छ ।
उनले पार्टीको पदाधिकारी बैठकमा आफूले प्रधानमन्त्रीको अभिव्यक्तिबारे छलफल हुने सोचे पनि आफ्नोबारे चर्चा गरिएको प्रति आपत्ति जनाए ।
"मलाई त लागेको थियो, पदाधिकारीको बैठक यी विषय (प्रधानमन्त्रीको अभिव्यक्तिसहित)मा छलफल हुन्छ भनेको त मेरो विषयमा छलफल भएछ, हाँसो लाग्यो । ठिकै छ, सहनुपर्छ । राजनीतिमा सहनशीलता हुनुपर्छ । हामी किन सरकारले गलत गरेका कामलाई गलत भन्न सकिरहेका छैनौँ," ओलीले भने ।
नेता कोइरालाले प्रजातान्त्रिक संस्कार, आचरण, मूल्य, मान्यताका निम्ति फेरि लड्नुपर्ने आवश्यकता रहेको पनि बताए ।
"अब एकपटक फेरि प्रजातान्त्रिक संस्कार, आचरण, मूल्य, मान्यताका निम्ति हामी फेरि लड्नुपर्ने आवश्यकता देखेको छु । हामीले गलत काम नगरौँ, सही काम गर्न सक्दैनौँ भने चुप लागेर घरमा बसौँ । तर, गलत काम नगरौँ," उनले भने ।