
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ मा १०औँ राष्ट्रिय खेलकुद आयोजना गर्न ५४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय सदनमा बजेट प्रस्तुत गर्दै कर्णालीको राजधानी सुर्खेतमा आयोजना हुने तय भएको १०औँ राष्ट्रिय खेलकुद आयोजनाका निम्ति ५४ करोड रुपैयाँ विनियोजन गरेका हुन् ।
“सुर्खेतको विरेन्द्रनगरमा १०औँ राष्ट्रिय खेलकुदको आयोजना गर्न ५४ करोड रुपैयाँ विनियोजन गरेको छु,” अर्थमन्त्री पौडेलले भने ।
यसअघि आर्थिक वर्ष २०८१/८२ को बजेटमा पनि सरकारले १०औँ राष्ट्रिय खेलकुद आयोजना गर्न ६० करोड रुपैयाँ विनियोजन गरेको थियो । तर, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र खेलकुद मन्त्रालयबीच खिचातानी हुँदा १०औँ राष्ट्रिय खेलकुदको मिति पटक–पटक सर्दै आएको छ ।