
काठमाडौं । काठमाडौंको प्रदूषण न्यूनीकरणका गर्न उपत्यकाभित्र सञ्चालित उद्योगलाई उपत्यकाबाहिर स्थानान्तरण गरिने भएको छ । बिहीबार (जेठ १५) संघीय संसद्को संयुक्त बैठकमा आउँदो आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो जानकारी दिएका हुन् ।
उनले राजधानी क्षेत्रको प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले उद्योगलाई उपत्यकाबाहिरका औद्योगिक क्षेत्रमा स्थानान्तरण गर्न प्रोत्साहित गर्ने नीति सरकारले लिएको बताए ।
अर्थमन्त्री पौडेलका अनुसार, स्थानान्तरण गरिने उद्योगलाई निःशुल्क लिजमा जग्गा उपलब्ध गराइने व्यवस्था मिलाइएको छ ।
उद्योग, व्यवसाय, कृषि फार्म र हाउजिङ अपार्टमेन्टका निम्ति हदबन्दीभन्दा बढी जग्गा खरिद गर्न सक्ने व्यवस्था मिलाइएको समेत उनले बताए ।
हदबन्दीका कारण बिक्री हुन नसकेका अनुमति प्राप्त हाउजिङ तथा अपार्टमेन्टलाई बिक्री गर्न पाउने व्यवस्था गरिने उनले बताए ।
सरकारले आउँदो आर्थिक वर्षमा जग्गा प्राप्ति तथा हदबन्दीसम्बन्धी कानुनको पुनरवलोकन गर्ने उनले उल्लेख गरे । न्युज एजेन्सी नेपाल