site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
बत्ती गएको झुटो खबर फैलाउनेको नम्बर मन्त्रालयले गर्‍यो सार्वजनिक

विराटनगर । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र कोसी प्रदेश कार्यालयले कोसीका विभिन्न जिल्लामा रहेका विद्युत् प्राधिकरणका वितरण केन्द्र तथा ग्रिड महाशाखाको संयुक्त अनुगमन तथा सेवाप्रवाह मूल्यांकन सम्पन्न गरेका छन् ।

ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, कोसी प्रदेश प्रमुख राजीव सिंह तथा ऊर्जामन्त्री दीपक खड्काको टोलीले आइतबार र सोमबार दुई दिनसम्म विराटनगर, दुहबी, इटहरीलगायत वितरण केन्द्र तथा ग्रिड महाशाखामा स्थलगत अवलोकन गरेका हुन् । 

Argakhachi Cement Island Ad

टोलीले अनुगमनकै क्रममा उपभोक्ताहरूसँग छलफल तथा अन्तरक्रिया गर्दै विद्युत् सेवा प्रवाहमा देखिएको समस्या, सम्भावना र सुधारको पक्षमा महत्त्वपूर्ण जानकारी संकलन गरेको छ ।

टोलीले विशेष रूपमा विराटनगर वितरण केन्द्र, दुहबी वितरण केन्द्र, दुहबी ग्रिड महाशाखा र इटहरी वितरण केन्द्रमा निरीक्षण गर्दा सामान्यतः सेवा प्रवाह सन्तोषजनक पाइए तापनि केही उपभोक्ताबाट आएको गुनासोमा गम्भीरताका साथ ध्यान दिएको जनाएको छ ।

अनुगमनकै क्रममा एक अचम्मको घटनाले टोलीको ध्यान खिचेको छ । सागर थापा नाम बताउने एक व्यक्तिले साँझ ८:१५ बजे ९७६३७०२*** नम्बरबाट फोन गरी धनकुटामा विद्युत् सेवा अवरुद्ध भएको जानकारी दिएका थिए । तर प्राधिकरणले सो क्षेत्रको अवस्थाबारे बुझ्दा कतै पनि विद्युत् अवरुद्ध नभएको पुष्टि भयो ।

थप अनुसन्धानका क्रममा ती व्यक्तिले कर्मचारीलाई दुःख दिने नियतले अपमानजनक र उच्छृंखल भाषा प्रयोग गर्दै ‘बत्ती गएको’ भन्दै सामाजिक सञ्जाल र युट्युबलगायत प्लेटफर्ममा राखिदिने धम्कीपूर्ण शब्द प्रयोग गरेको खुलेको छ ।

केही दिनअघि मात्रै ऊर्जामन्त्री दीपक खड्काले झुटा विवरण दिएर सरकार र संस्थाको बदनाम गर्ने गतिविधिमा संलग्न व्यक्तिलाई कानुनको दायरामा ल्याउने चेतावनी दिएका थिए । उक्त घटनाले मन्त्रीको भनाइ व्यवहारमा परिणत हुँदै गएको देखिन्छ ।

ऊर्जा मन्त्रालय र कोसी प्रदेशको संयुक्त अनुगमन टोलीले नागरिकका गुनासोलाई गम्भीरतापूर्वक लिँदै, सत्य र तथ्यको आधारमा सेवा प्रवाह सुधार गर्ने प्रतिबद्धता जनाएको छ । मन्त्रालयले आगामी दिनमा यस्ता झुटा सूचना फैलाउने कार्यप्रति शून्य सहनशीलता अपनाउने स्पष्ट सन्देश दिएको छ ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  ११:५२
प्रतिक्रिया दिनुहोस्