site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
अमात्य ग्रुपको माउन्ट एभरेष्ट ब्रुअरीले कर नतिरेपछि १५ दिने ‘अल्टिमेटम’

काठमाडौं । अमात्य ग्रुपको बियर उत्पादक माउन्ट एभरेष्ट ब्रुअरी प्रालिले कर नतिरेपछि मध्यस्तरीय करदाता कार्यालयले १५ दिनको ‘अल्मिेटम’ दिएको छ । 

ब्रुअरीले आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तःशुल्क तिर्न बाँकी रहेको कर कार्यालयले जनाएको छ । १५ दिनभित्र कर नबुझाए कानुनअनुसार असुली प्रक्रिया अघि बढाउने करदाता कार्यालयले माउन्ट एभरेष्टलाई चेतावनी दिएको छ । 

गतवर्ष २०८१ वैशाख २८ गते कर परीक्षण कागजात पेस गर्न ब्रुअरीलाई ठूला करदाता कार्यालयले भनेको थियो । त्यसबेला पनि ठूला कर कार्यालयले १५ दिनभित्र आयकर, अन्तःशुल्क र भ्याट बुझाउन समय दिएको थियो ।

Argakhachi Cement Island Ad

आयकर, अग्रिम करकट्टी, भ्याट, अन्तःशुल्क वक्यौता रकम दाखिला गर्न विभिन्न मितिमा टेलिफोन सम्पर्क, ताकेता, संकलन भ्रमण, छलफल तथा कार्यालयको अभिलेखमा भएको ठेगानामा विभिन्न मितिमा पत्राचार गरिएकोमा हालसम्म बक्यौता रकम दाखिला नभएको कार्यालयले जानकारी दिएको छ ।

वि.सं. २०७८ चैतमा चारवटा बैंकले चितवनमा रहेको माउन्ट एभरेष्टलाई ऋण नतिरको भन्दै लिलामीको प्रक्रिया अघि बढाएका थिए ।

२०७२ सालअघि पनि ऋण तिर्न नसकेर बैंकहरूले पुनर्संरचना गरिदिएका थिए । पुनर्संरचनापछि पनि कम्पनीले ऋण तिर्न छाडेको र ऋण तिर्न विकल्प स्वीकार नगरेपछि सहवित्तीयकरणमा ऋण लागेको कम्पनी लिलामीको प्रक्रिया अघि बढाएको थियो ।

माउन्ट एभरेष्टका सञ्चालक दमनबहादुर अमात्य हुन् । उनले नेपाल बैंकसहित राष्ट्रिय बाणिज्य बैंक, नबिल बैंक र हिमालयन बैंकले कम्पनीमा ऋण लगानी गरेका थिए ।

बैंकहरूले वि.स. २०७२ सालमा ६० करोड रुपैयाँ एकमुस्ट तिर्ने गरी ऋणको पुनर्संरचना गरेका थिए । अमात्यले ६ करोड रुपैयाँ मात्र बैंकलाई बुझाएका थिए ।

उनले बाँकी रहेको ५४ करोडको ब्याज मात्र भुक्तानी गर्दै आएकोमा पछि छाडेका थिए । उद्योगले एभरेष्टलगायत विभिन्न ब्रान्डको स्ट्रोङ बियर उत्पादन गरिरहेको छ ।

बैंकले कम्पनीको नाममा रहेको भरतपुर गोन्द्राङमा रहेको जग्गा लिलामी गर्न लागेको थियो । कारखानाको चार विघा पाँच कट्ठा साढे नौ धुर जग्गा रहेको छ ।

नेपालको बियर बजारमा माउन्ट एभरेष्ट ब्रुअरीको राजगज चलेका थियो । त्यसबेला माउन्ट एभरेष्टको सानमिगेल बियर लोकप्रिय ब्रान्डका रूपमा स्थापित भएको थियो ।

उद्योगले फिलिपिन्स कम्पनीको सानमिगेल ट्रेडमार्कमा बियर उत्पादन गर्दै आएको थियो । माउन्ट एभरेष्टले सानमिगेल, टाइगर र टाइगर स्ट्रोङ बियर उत्पादन गरेको थियो । पछि फिलिपिन्सको सानमिगेल डेनमार्कको काल्सबर्ग ग्रुपले किन्यो । सानिमिगेल बियरको लाइसेन्स खोसिएपछि माउन्ट एभरेष्टको व्यापार ओरोलो लाग्न थालेको थियो । 

अहिले सानमिगेल बियर गोरखा ब्रुअरीले उत्पादन गर्दे आएको छ । सानमिगेलको उत्पादन लाइसेन्स खोसिएपछि दमनबहादुर अमात्यले एभरेष्ट बियर बजारमा ल्याएका थिए ।

ग्रुपका अध्यक्ष पीयुषबहादुर अमात्यले पोखरामा पाँचतारेस्तरको फूलबारी रिसोर्ट निर्माण गरेका थिए । रिसोर्ट सञ्चालन गर्न नसकेपछि अहिले बन्द छ । फूलबारी रिसोर्टले साँवा र ब्याज गरी चार अर्ब रुपैयाँभन्दा बढी ऋण तिर्न बाँकी छ ।

प्रकाशित मिति: बुधबार, जेठ १४, २०८२  ०८:३६
प्रतिक्रिया दिनुहोस्