
काठमाडौं । त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालाको प्यारापिट ढलान मंगलबार (जेठ १३) देखि थालिएको छ । यही जेठ महिनाभित्र सम्पन्न गर्ने गरी सबै कार्य अगाडि बढाइएको सहरी विकास मन्त्रालयका सहसचिव चक्रवर्ती कण्ठले बताए ।
रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउने कार्यक्रमअन्तर्गत पहिलो चरणमा पश्चिमी र पूर्वी भागतर्फ गरी कुल १० हजार दर्शक अट्ने प्यारापिट बनाउन लागिएको छ । पहिलो चरणमा निर्माण गर्नुपर्ने प्यारापिटलाई १२ भागमा विभाजन गरिएको छ । त्यसमध्ये पहिलो भागको ढलान सुरु गरिएको कण्ठले जानकारी दिए ।
“प्रयोगशालामा गुणस्तर नियन्त्रण गरिएका कंक्रिटमाथि उच्चस्तरको ‘फ्लोर हार्डनर’ प्रयोग गरिएको छ । रंगशालाको कंक्रिट सतह अत्यधिक घोटिने भएकाले यसको प्रयोग गरिएको हो,” उनले भने ।
उनले अगाडि भने, “रंगशालाको भूबनोटअनुसार पश्चिमी र दक्षिणी भागको जमिन मैदानभन्दा अग्लो भएका कारण जमिनकै सतहमाथि पीसीसी गरी ढलान गरिएको छ । पूर्वी भागको जमिन भने मैदानसरहकै भएका कारण पिलर उठाएर आवश्यक स्लोप कायम गरिएको छ । सबै कार्य जेठ महिनाको अन्त्यसम्म सम्पन्न गर्ने लक्ष्य छ ।”
प्यारापिटबाहेक रातिको समयमा खेल सञ्चालन गर्न आठ फ्लडलाइट समेत जडान गरिँदै छ । यी सबै कार्यको निरीक्षण गर्न त्यहाँ पुगेका सहरी विकास सचिव गोपालप्रसाद सिग्देलले गुणस्तरमा ध्यान दिन र निर्धारित समयमै कार्यसम्पन्न गर्न निर्देशन दिएका थिए । रासस