site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
गृहमन्त्रीको राजीनामाको माग पूर्वाग्रहपूर्ण : रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले भिजिट भिसामार्फत मानव तस्करी प्रकरणमा गृह मन्त्रालयअन्तर्गतका कर्मचारीमाथि भइरहेको अनुसन्धानको विषयलाई लिएर गृहमन्त्रीको राजीनामा माग्नु पूर्वाग्रहपूर्ण भएको टिप्पणी गरेका छन् । मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद खतिवडाले यस्तो टिप्पणी गरेका हुन् । 

उनले भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको उल्लेख गर्दै दोषी भए जुनसुकै व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । यद्यपि, कर्मचारीमाथि अनुसन्धान सुरु भएकै आधारमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने माग उचित नभएको सांसद खतिवडाको भनाइ छ । गृह मन्त्रालयअन्तर्गतका हजारौँ कर्मचारीमाथि अनुसन्धान भएको उल्लेख गर्दै सांसद खतिवडाले मातहतका कर्मचारीमाथि उजुरी पर्नेबित्तिकै मन्त्रीले नैतिक जिम्मेवारी लिने परम्परा उचित नहुने उनको भनाइ छ । 

Argakhachi Cement Island Ad

"एउटा कर्मचारीमाथि निष्पक्ष छानबिन हुन दिनुपर्दछ । गल्ती भए जुनसुकै तहको मान्छे पनि कारबाहीको दायरामा आउनुपर्दछ । तर, कसैमाथि अनुसन्धान गर्दैमा गृहमन्त्रीलाई नै राजीनामा दिनुपर्छ भन्नु पूर्वाग्रह हुन्छ । जजसलाई उजुरी पर्दै जान्छ मन्त्रीहरूले राजीनामा दिँदै जाने ?," उनले प्रश्न गरे । 

प्रमुख प्रतिपक्षीसहितका विपक्षी दलहरूले गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा मुछिएको आरोप लगाउँदै अनुसन्धानमा सघाउन राजीनामा दिनुपर्ने माग गर्दै संसद् अवरुद्ध पारेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने उनीहरूको माग छ । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: मंगलबार, जेठ १३, २०८२  १५:३१
प्रतिक्रिया दिनुहोस्