
मकवानपुर । त्रिभुवन राजपथअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–३ मा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् ।
सोमबार बेलुका बज्रवाराही गोपाली गाउँबाट ठाना बजार आउँदै गरेको बा३ख ५९९० नम्बरको यात्रुबस ब्रेक फेल भएर अनियन्त्रित हुँदा नेपाल विद्युत् प्राधिकरणनजिकै सडकमा हिँडिरहेका सातजनालाई ठक्कर दिएको थियो ।
दुर्घटनामा अन्दाजी ४० वर्षीय कृष्ण बलामी, ३८ वर्षीय लोकेन्द्रकुमार ठाकुर र सिराहा औराही गाउँपालिका–१ का रघुनन्दन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक दुईजनाको ठेगाना खुलेको छैन ।
दुर्घटनामा गम्भीर घाइते भएका एकजनाको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ । अन्यको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।
बसचालक थाहा–५ वसन्तका २९ वर्षीय राजेश कार्कीलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । रासस