
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले जथाभावी बोल्दै हिँडेको टिप्पणी गरेका छन् । पाँचथरको फालेलुङ गाँउपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले प्रधानमन्त्रीका अभिव्यक्ति गैरजिम्मेवार भएको बताए । “ओलीजीले जथाभावी बोलिरहनुभएको छ,” डा. कोइरालाले भने, “प्रधानमन्त्रीले एमालेका कार्यकर्तालाई काठमाडौं कब्जा गर्न निर्देशन दिन मिल्दैन । उहाँले पार्टीका कार्यकर्तालाई अनावश्यक उक्साइरहनु भएको छ ।”
प्रधानमन्त्री ओलीले एमाले वाग्मती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ‘जेठ १५ गते राजधानी काठमाडौंलाई एमालेको कब्जामा राख्न’ निर्देशन दिएका थिए । सोही दिन राजावादीहरूले पनि काठमाडौंकेन्द्रित आन्दोलनको घोषणा गरेका छन् । “प्रधानमन्त्रीकै कारण देश मुठभेडतर्फ जाँदै छ,” कोइरालाले भने ।
कार्यक्रममा कोइरालाले कार्यकर्तालाई नेताको झोला मात्र बोक्ने नभइ स्वाभिमानी बन्न र नेतामाथि प्रश्न उठाउन आग्रह गरे । “नेपाली कांग्रेसका कार्यकर्ताहरूले नेताको झोला बोक्ने र उनीहरूको पछि कुदेर मात्र हुँदैन, कार्यकर्ताहरू स्वाभिमानी बन्नुपर्छ,” डा. कोइरालाले भने, “आफूलाई आफैँले सक्षम नेतृत्वको रूपमा स्थापित गर्नुपर्छ । नेता खुसी पार्न हैन जनतालाई खुसी बनाउने काम गर्नुपर्छ ।”