
पोखरा । नेकपा (एमाले)को भ्रातृंसगठन राष्ट्रिय युवा संघको १०औँ महाधिवेशनमा सोमबार (जेठ १२) पनि मतदान हुने छाँटकाँट छैन । महाधिवेशन आइतबारै (जेठ ११) सकाउने यसअघिको तयारी थियो ।
अध्यक्ष पदका उमेदवार सुमन पुरीले एक भिडियो जारी गर्दै हालसम्म पनि प्रतिनिधिको अन्तिम नामावली तयार नभएको जानकारी गराएका छन । प्रतिनिधिलाई ‘चुनाव हुँदैन, तपाईंहरू घर जानुहोस्’ भन्ने भ्रम फैलाइएको उनले आरोप लगाए ।
उनका अनुसार, सोमबार मध्यरातसम्म प्रतिनिधिको नाम विद्युतीय मेसिनमा अद्यावधिक गरिनेछ । त्यसपछि मतदानको प्रक्रिया सुरु हुनेछ ।
उनले प्रतिनिधिलाई घर नजान आग्रह गरेका छन् । मंगलबार (जेठ १३) बिहान मतदान हुने उनको भनाइ छ ।
यसअघि, सोमबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदानको समय तोकिएको थियो । नेताहरूका नाम लिएर प्रतिनिधिलाई फकाउने, धम्क्याउने कार्य भइरहेको दुवै पक्षले आरोप लगाएका छन् ।
निर्वाचनका निम्ति पोखरा आएका जनसंगठन संयन्त्रका संयोजक भानुभक्त ढकाल, पूर्वअध्यक्ष महेश बस्नेत, इन्चार्ज राजीव पहारी महाधिवेशनस्थलमा छैनन् । त्यसकारण पनि प्रतिनिधिमा मतदान नहुने संशय छ ।
हालका अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरी छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा होमिएका छन् । थेबे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाहले उमेदवारी दिएका छन् । पुरी प्यानलबाट प्रकाश गौतम र पर्वत भण्डारी उपाध्यक्षका उमेदवार छन् ।
महासचिवमा थेबे प्यानलबाट महेश चौलागाईं र पुरीका तर्फबाट कुबेर अधिकारीले उम्मेदवारी दिएका छन् । उपमहासचिवमा थेबे प्यानलबाट उपेन्द्र शाही र पुरीतर्फ खेमराज शर्माले उमेदवारी दिएका छन् ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले हालका अध्यक्ष थेबेलाई नै निरन्तरता दिन निर्देशन दिए पनि पुरीले अडान छाडेनन् । त्यसपछि चुनावी प्रक्रिया अघि बढाइएको हो । दुवै पक्ष प्रचारप्रसारमा सक्रिय छन् । उनीहरूले मतदाता भेट्ने र आफ्नो पक्षमा मत माग्ने कार्य गरिरहेका छन् ।
उनीहरूले छुट्टाछुट्टै आफूनिकट प्रतिनिधिको भेला समेत गरिसहेका छन् । महाधिवेशनमा एक हजार ७६४ प्रतिनिधि छन् ।