site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झन्झट नदिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आउने पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झन्झट नदिइ न्यानो आतिथ्य दिन आग्रह गरेका छन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा सोमबार (जेठ १२) सिंहदरबारमा आयोजित राष्ट्रिय पर्यटन संवादमा प्रधानमन्त्री ओलीले विद्यमान अवरोधहरू हटाइ सुशासन र विकासको गतिलाई साहसिक ढंगले अगाडि बढाउन व्यापक सुधार गर्न आग्रह गरेका हुन् । 

Argakhachi Cement Island Ad

अध्यागमनमा यात्रुलाई अनावश्यक दुःख दिने, लगेज हराउने, सीमानाकाहरूमा पर्यटकलाई प्रवेशमा अनेक बाहना बनाउने जस्ता कार्य अन्त्य हुनुपर्नेमा प्रधानमन्त्रीको जोड थियो । उनले सार्वजनिक खरिद ऐन र अन्य नियमहरूमा व्यवसाय र काम गर्नका लागि कुनै बाधा छ भने परिवर्तन गर्न सरकार तयार रहेको पनि स्पष्ट पारे । 

“हामीले पूर्वाधार विकाससँगै पर्यटन वृद्धिको कोसिस गरिरहेका छौँ । सम्पर्क सञ्जाल विस्तार गरिएको छ । नेपाल अब दुर्गम रहेन । जुम्लाको स्याउ काठमाडौं आएर बजार पाउन थालेको छ । चीनसँग १४ नाका खोलिएको छ । किमाथांका नाकामा पुल बन्दै छ,” प्रधानमन्त्री ओलीले भने, “केही पनि नभएका ठाउँमा एकैपटक सबैथोक गर्न पर्दा समय लाग्छ । केही पनि भएन भनेर आत्मश्लाघा लिनुपर्ने अवस्था छैन । सम्बन्धित निकायबाट हुनुपर्ने सहजीकरणका काममा कुनै कमजोरी नगरी समृद्धिको आधारका रूपमा पर्यटनलाई अघि बढाऔँ ।”

प्रधानमन्त्री ओलीले नेपालको आकाश सुरक्षित भए पनि युरोपको आकाश नेपालका लागि अझै प्रतिबन्धित (कालोसूची) राखिएकामा सर्तबमोजिम हवाई क्षेत्रका दुई निकायलाई अविलम्ब अलग्याउन र अरु मापदण्ड पनि पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिए । 

छलफलमा काठमाडौं–मुग्लिन–पोखरा, बुटवल–पाल्पा–पोखरा, काठमाडौं–धुलिखेललगायत मुख्य सडकहरू समयमै निर्माण, सीमानाकाहरूबाट पर्यटकको प्रवेशमा सहजता, युरोपियन मुलुकमा सिधा हवाई सम्पर्क, विश्वमञ्चमा नेपालको ब्रान्ङिङ, पर्यटन प्रवर्द्धनको गुरुयोजना निर्माण, नेपाल वायुसेवा निगमको पुनर्संरचना, सगरमाथा संवादपश्चातको कार्यान्वयन, गुणस्तरीय लगानी गर्नुपर्नेमा जोड दिइएको छ ।

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १७:२६
प्रतिक्रिया दिनुहोस्