
काठमाडौं । राजावादी समूहले जेठ १५ गते गर्ने भनिएको प्रदर्शनबारे प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा संगठनका प्रमुखसँग जानकारी लिएका छन् । सोमबार बिहान प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीले जानकारी लिएका हुन् ।
सो क्रममा उनले राजावादीले कस्तो प्रकृतिको प्रदर्शन गर्न लागेका हुन् ? सुरक्षा अवस्थाको तयारी कस्तो छ भन्नेबारे नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरूसँग राय लिएका हुन् । प्रधानमन्त्रीले राजावादीहरूको तयारीबारे जानकारी लिएको गृह मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्र हुनुपर्नेलगायत मागसहित गत चैतदेखि राजावादी समूह सडकमा उत्रिएका छन् । गएको चैत १५ मा तीनकुनेमा आयोजना गरिएको प्रदर्शन अराजक बन्दा दुईजनाको ज्यान नै गएको थियो ।
राजसंस्थाको माग गर्दै पूर्वपञ्ज नवराज सुवेदीको संयोजकत्वमा जनआन्दोलन समिति नै बनेको छ । सुवेदी नेतृत्वकै समितिले आयोजना गरेको जेठ १५ को कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) समेत सहभागी भएको थियो ।
तीनकुनेमा अराजक प्रदर्शन गर्नेहरूविरुद्ध प्रहरीले मुद्दा चलाएको छ । आइतबार मात्रै प्रदर्शनका कमान्डर दुर्गा प्रसाईंसहित ६२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ ।
त्यसको एक महिनापछि राजावादीहरूले पुनः अर्को प्रदर्शन गर्न लागेका हुन् । राजावादीको प्रदर्शनमा सुरक्षा निकाय आक्रमक रूपमा प्रस्तुत हुने रणनीतिमा छ ।