
काठमाडौं । नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नरहेको निष्कर्ष निकालेको छ । सोमबार देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले गृहमन्त्री संलग्न नरहेको निष्कर्ष निकालेको हो ।
बैठक राजीनामामा प्रवेश नगरेको उनको भनाइ छ । "छानबिनको दायरामा गृहमन्त्री हुनुहुन्नु, उहाँमाथि उजुरी छैन । उहाँ दोषी भन्न मिल्दैन," बैठकपछि प्रवक्ता प्रकाशशरण महतले भने ।
महतका अनुसार, बैठकमा गृहमन्त्री लेखकले आफ्नो कुनै संलग्न नरहेको बताएका थिए । "गृहमन्त्रीज्यूले जुन विषय अहिले सार्वजनिकरूपले मिडियामा, सामाजिक सञ्जालमा आएको छ, त्यस सम्बन्धमा उहाँले आफ्नो कुरा सविस्तार राख्नुभयो । तर, आफ्नो कुनै पनि हिसाबको संलग्नता छैन, मैले कुनै पनि कमजोरी गल्ती गरेको छैन भनेर सविस्तार राख्नुभयो," उनले भने ।