
काठमाडौं । लिग चरणको आफ्नो अन्तिम खेलमा कोलकाता नाइट राइडर्सविरुद्ध ११० रनको फराकिलो जित निकाल्दै सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को सुखद अन्त्य गरेको छ ।
आइतबार राति दिल्लीमा भएको खेलमा हैदराबादले २७९ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा कोलकाताले निर्धारित १८.४ ओभरमा सबै विकेट गुमाएर १६८ रन मात्र बनाउन सक्यो ।
कोलकाताका मनीष पाण्डेले सर्वाधिक ३७ रन जोडे । उनले २३ बलमा दुई चौका र तीन छक्का प्रहार गरे । हर्षित रानोले ३४ र सुनील नारिनले १६ बलमा तीन चौका र तीन छक्कासहित ३१ रन थपे ।
हैदराबादका इसान मालिंगा, हर्ष दुवे र जयदेव उनदकटले समान तीन विकेट लिए ।
त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २७८ रन बनाएको थियो ।
हैदराबादका हेनरिक क्लासेनले १०५ रनको शतकीय इनिङ खेले । उनले ३९ बलमा सात चौका र नौ छक्का प्रहार गरे । ट्राभिस हेडले ४० बलमा समान ६ चौका र छक्कासहित ७६ रन प्रहार गरे । ओपनर अभिषेक शर्माले ३२, इशान किसनले २९ र अनिकेत वर्माले १२ रन थपे ।
कोलकाताका सुनील नारिनले दुई विकेट लिए । वैभव अरोराले एक विकेट लिए ।
जितसँगै १३ अंक जोडेको हैदराबाद तालिकाको छैटौँ स्थानमा उक्लिएको छ । समान खेलबाट १२ अंकको कोलकाता आठौँ स्थानमा छ ।