
काठमाडौं । गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक विवादमा तानिएका छन् । उनी विवादमा तानिनुको विषय हो, ‘मानव तस्करले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाएर भिजिट भिसा दुरुपयोगमा उनको संलग्नता ।’
गृहमन्त्री लेखकमाथि लागेको यो गम्भीर आरोप सत्य हो वा होइन, त्यो अनुसन्धान भएपछि खुल्नेछ । तर यतिबेला यो प्रकरणले राजनीतिक दलहरूमा खैलबैला मच्चाएको छ ।
केही नेता गृहमन्त्रीको बचाउमा देखिएका छन् केही उनको राजीनामा माग गरिरहेका छन् । सत्तारुढ दलदेखि प्रतिपक्षदलका नेताले प्रत्यक्ष तथा अप्रत्यक्ष गृहमन्त्रीको राजीनामा मागरिरहेका छन् । धेरैले भनिरहेका छन्, “गृहमन्त्रीले पदबाट राजीनामा गरेर अनुसन्धानका लागि बाटो प्रशस्त गर्नुपर्छ ।”
राजीनामा माग गर्नेमा कांग्रेस, एमाले, प्रतिपक्षमा रहेको रास्वपासम्म रहेका छन् । पहिला बुझौँ, गृहमन्त्री लेखक यो विवादमा कसरी तानिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत बुधबार गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएको थियो ।
मंगलबारसम्म उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत थिए ।
भट्टराई २०८१ असोज २३ गते मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा प्रमुख अध्यागमन अधिकृतको रुपमा हाजिर भएका थिए । छोटो अवधिमै उनलाई मंगलबार अचानक गृहमन्त्रीको निर्देशनमा मन्त्रालयमा तानियो ।
गृह मन्त्रालय तानिएको भोलिपल्टै भट्टराईलाई अख्तियारले नियन्त्रणमा लियो । स्रोतका अनुसार, अख्तियारले उनीमाथि निगरानी बढाएको थाहा पाएपछि गृहमन्त्री लेखकले उनलाई मन्त्रालयमा तानेका थिए । गृहमन्त्री लेखकले नै भट्टराईलाई विमानस्थलस्थित अध्यागमन कार्यालयमा प्रमुख बनाई पठाएका थिए ।
अख्तियारको टोलीले भट्टराईका अतिरिक्त खगेन्द्र सुवेदी, कविता पौडेल र बालकृष्ण बस्नेतलाई पनि नियन्त्रणमा लिएको थियो । भट्टराईलाई बिहीबार छाडियो भने अन्य व्यक्ति अझै अख्तियारको नियन्त्रणमा छन् ।
अख्तियारले बुधबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा समेत छापा मारेको थियो । त्यहाँबाट अख्तियारले केही काजगात र उपकरण साथमा लगेको थियो ।
भट्टराईलाई छाडे पनि अख्तियारले उनको मोबाइललगायतका उपकरण नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका सबैको मोबाइल प्रहरीको डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाएको छ ।
नियन्त्रणमा लिएपछि अख्तियारको टोलीले भट्टराईसँग प्रारम्भिक सोधपुछ गरेको थियो । अख्तियारको महाशाखा नं.३ ले गृह मन्त्रालय हेर्नेगर्छ । उक्त महाशाखाले उनीहरूमाथि अनुसन्धान गरिरहेको छ ।
प्रारम्भिक सोधपुछका क्रममा सहसचिव भट्टराईले विमानस्थलमा मानव तस्करले गर्ने सेटिङमा अध्यागमनका तल्लो तहका कर्मचारी मात्र होइन, गृह प्रशासनको नेतृत्व समेत संलग्न रहेको बताएपछि गृहमन्त्री भिजिट भिसा र मानव तस्करी जोडिएको विवादमा तानिएका हुन् ।
त्यतिमात्र होइन, सहसचिव भट्टराईले प्रारम्भिक सोधपुछमा मानव तस्करबाट बुझेको दैनिक ५० लाख रुपैयाँसम्म गृह मन्त्रालय पठाउने गरेको बताएको भन्ने समेत बाहिर आएको छ । तर, यसको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलसँग बाह्रखरीले यो विषयमा बुझ्न खोजेको थियो ।
तर, उनी आज (आइतबार)बाट एउटा तालिमको लागि एक साता बिदामा बसेका कारण कुरा हुन सकेन ।
बाह्रखरीको सम्पर्कमा आएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ताले देवीप्रसाद थपलियाले आफूसँग कुनै जानकारी नभएको बताए ।
“अनुसन्धान चलिरहेको हुँदा यस विषयमा केही भन्न मिल्दैन । मसँग केही जानकारी पनि छैन,” सहायक प्रवक्ता थपलियाले बाह्रखरीसँग भने । अख्तियारले सहसचिव भटट्टराईलाई नियन्त्रणमा लिएपछि घटनामा संलग्न रहेको आरोपमा गृह मन्त्रालयले ९ जना कर्मचारीलाई सरुवा र ६ जनाको जिम्मेवारी खोसेको छ ।
गृहमन्त्री लेखकको सचिवालय एकजना कर्मचारी यसअघि भिजिट भिसामा नेपालीलाई विदेश पठाउने मानव तस्करको सेटिङमा संलग्न रहेको आरोप लागेका व्यक्ति रहेको भन्दै झन् उनको आलोचना भइरहेको छ ।
यसअघि नक्कली कागजात बनाई भिजिट भिसामा नेपालीलाई विदेश पठाएको आरोपमा मुद्दा खेपेका व्यक्ति विमल पौडेल गृहमन्त्री लेखकको सचिवालयका कार्यरत छन् ।
यसैलाई आधार बनाई गृहमन्त्री लेखकमाथि थप प्रहार भइरहेको छ । पौडेलले अदालतबाट उक्त घटनामा सफाइ पाइसकेका छन् ।
मिडियामा गृहमन्त्री लेखकको संलग्नताबारेका समाचार र सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि गृह मन्त्रालय विज्ञप्ति निकाल्न बाध्य बनेको थियो । गृहले सार्वजनिक बिदाको दिन शनिबार विज्ञप्ति जारी गर्दै उक्त आफ्नो गम्भीर ध्यानाकर्षण भएको बतायो ।
“यस प्रकारका कपोलकल्पित, भ्रामक र आधारहीन समाचार प्रकाशित र प्रसारित भएको प्रति मन्त्रालय दुःख व्यक्त गर्दछ,” गृहको विज्ञप्तिमा भनिएको छ, “यस्ता कुनै पनि गैरकानुनी वा भ्रष्टाचारजन्य कार्यमा मन्त्रालयको नेतृत्वको कुनै प्रकारको संलग्नता नरहेको र नरहने विषय स्पष्ट गर्दछौं ।”
विज्ञप्तिमा पछिल्लो समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको काम कारबाहीका सम्बन्धमा अख्तियारले छानविन गरिरहेको हुँदा अनुसन्धान कार्य पूरा भएपछि सत्य/तथ्य व्यहोरा सबैको जानकारीमा आउने जनाइएको थियो ।
गृहमन्त्री लेखकलाई गृहको विज्ञप्तिबाट चित्त बुझेन । उनले शनिबार नै केही पत्रकारहरूसँग पनि कुराकानी गरे । उक्त कुराकानीको सानो अंश अर्थात् १ः४५ सेकेण्ड लामो भिडियो शनिबार गृहमन्त्रीको सचिवालयले आफ्नो ‘ह्वाट्सएप ग्रुप’मा समेत पठायो ।
भिडियोमा गृहमन्त्री लेखकले आफूविरुद्ध राजनीतिक र नियोजित रुपले षडयन्त्रमूलक ढंगले झुटा प्रचारबाजी भइरहेको दाबी गरेका छन् ।
“गृह मन्त्रालय यत्रो ठूलो मन्त्रालय छ । यसमा हजारमा होइन, लाखमा कर्मचारी छन् । लाखौँलाख कर्मचारीमा संवैधानिक निकाय यसमा अनुसन्धान गर्न सक्षम निकायले कुनैबेला कुनै पनि कर्मचारीमाथि अनुसन्धान गर्न सक्छ,” गृहमन्त्री लेखकको भनाई छ, “कुनै पनि कर्मचारीमाथि अनुसन्धान सुरु हुँदा सबै मन्त्रीहरूले राजीनामा दिँदै जाने हो ? के त्यही पद्धति बसाउने हो ? त्यो सम्भव छ ? । आजसम्म त्यस्तो भाको छ ?”
गृहमन्त्री लेखकले भिडियोमा भिजिट भिसाको विषय मात्रै नभई आफ्नो राजनीतिक र सार्वजनिक जीवनमा आर्थिक अनियमितता गरेको विषय प्रमाणित भए आफू राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् ।
यस विषयमा विस्तृत धारणा राख्न जेठ १३ गतेको प्रतिनिधिसभा बैठकमा समय मागेको जानकारी पनि भिडियोमा गृहमन्त्री लेखकले दिएका छन् ।
भिजिट भिसा र विमानस्थल सेटिङमा गृहमन्त्री लेखकको नाम जोडिएपछि प्रतिपक्ष दलका नेताले मात्र होइन उनकै दल नेपाली कांग्रेसका नेताले पनि उनको आलोचना गर्दै राजीनामा गर्न सुझाएका छन् ।
कांग्रेस नेता डा. शेखर कोइरालाले शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री लेखकलाई नैतिकताका आधारमा राजीनामा दिन आग्रह गरेका थिए । उनले राजीनामा दिएर छानबिनका लागि मार्गप्रशस्त गर्नपर्ने सुझाव उनको थियो ।
कोइरालाले विगतमा पनि केही मन्त्रीहरूले राजीनामा दिएर छानबिनमा सघाएको स्मरण गरेका थिए । राजीनामा दिए गृहमन्त्री लेखकलाई नै राम्रो हुने तर्क नेता कोइरालाको थियो ।
कांग्रेसका सांसद राजेन्द्र बजगाईले सभापति शेरबहादुर देउवालाई पत्र लेख्दै भ्रष्टाचारको आरोप लागेका मन्त्रीलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् । “पार्टीको प्रतिष्ठा जोगाउन र संस्थागत शुद्धीकरण गर्न, विवादास्पद, भ्रष्टाचारमा मुछिएका वा कार्यक्षमतामा पूर्ण असफल मन्त्रीहरूलाई तुरुन्त बर्खास्त गरियोस्,” उनले लेखेको पत्रमा उल्लेख छ ।
उनले गृहमन्त्री रमेश लेखक र पर्यटनमन्त्री बद्री पाण्डेलाई बर्खास्त गरेर पार्टीको साख जोगाउन अनुरोध गरेका छन् ।
कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आइतबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा कुनै एकजना कर्मचारीले गरेको गल्तीलाई आधार बनाउँदै गृहमन्त्रीको राजीनामा माग्नु गलत भएको बताए । यसले गलत नजिर बस्ने दाबी उनले गरे ।
“विगतमा मन्त्रीहरूमाथि नै कुरो उठेकाले राजीनामा दिएको भए पनि अहिले अध्यागमन विभागको कर्मचारीमाथि आरोप लागेको र अख्तियारले छानबिन गरिरहेकाले केही समय पर्खिनुपर्छ,” नेता सिटौलाले भने ।
अन्य दलका नेतामाथि भ्रष्टाचार र विभिन्न प्रकारका अपराधको आरोप लाग्दा सबैभन्दा पहिला अनुसन्धानको माग गर्ने कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने गृहमन्त्री लेखकका विषयमा हालसम्म मौन छन् ।
उनीहरूले सामाजिक सञ्जालमा पनि प्रतिक्रिया जनाएका छैनन् ।
सत्तारुढ दल नेकपा एमालेका नेता विष्णु रिजालले भने सामाजिक सञ्जाल एक्समा गृहमन्त्री लेखकप्रति व्यङ्ग्य गरेका छन् ।
“‘भिजिट भिसा’ प्रकरणमा गृह मन्त्रालयले बक्तव्य निकालेरै ‘उच्च नेतृत्वको कुनै संलग्नता छैन’ भनेछ अनि गृहमन्त्रीजीले ‘प्रमाणित भएमा राजनीति छाड्छु’ भन्नुभएछ,” एमाले नेता रिजालले भनेका छन्, “यति नभन्दा अन्योल भयो भन्ने लागेर यति भनेपछि सबैलाई स्पष्ट हुन्छ भनेरै त होला । रमाइलो लाग्यो ।”
यसअघि पनि उनले भिजिट भिसा, मानव तस्करी र गृहमन्त्रीलाई जोडेर सामाजिक सञ्जाल एक्समा पोष्ट गरेका थिए ।
“गृहमन्त्रीहरूको विगत त्यति सुखद् देखिँदैन । खुमबहादुर, गोविन्दराज, विजयकुमार, महरा, रवि...,” रिजालले भनेका थिए ।
प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार विज्ञप्ति नै जारी गरेर गृहमन्त्री लेखकको राजीनामा माग गरेको छ । सरकारको गृहमन्त्री र उनका सचिवालय नै ‘भिजिट भिसा’ मार्फत् मानव तस्करीमा संलग्न रहेको कुरा सार्वजनिक भएकामा पार्टीको गम्भीर ध्यानाकर्षण भएको रास्वपाले विज्ञप्तिमा जनाएको छ ।
“विगतमा सांसद रमेश लेखकले नै सदनमा, ‘प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनुपर्छ’ भनेर विभिन्न दृष्टान्त सम्झाउनु भएको कुरा आज उहाँलाई नै स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गर्दछौं,” रास्वपाले भनेको छ ।
रास्वपाले गृहमन्त्रीको राजीनामा नआए संसद अवरुद्ध गर्ने समेत चेतावनी दिएको छ । रास्वपाले विज्ञप्तिमा स्पष्ट शब्दमा भनेको छ, “यस मुद्दालाई लिएर आगामी दिनमा सदन अवरुद्ध हुँदा, त्यसले उत्पन्न गर्ने नेपाली राजनीतिप्रति घृणाको कारक नहुन पनि सुझाव दिन्छौं ।”
रास्वपाकी नेतृ सुमना श्रेष्ठले मानव तस्करीमा संलग्नले नर्कमा पनि ठाउँ नपाउने तर्क गरेकी छन् ।
“यो भिजिट भिसा प्रकरण हैन, मानव तस्करी हो ! आफ्नै छोरा–छोरीहरूलाई, अनजान ठाउँमा विना कुनै श्रम अधिकार संरक्षण पठाउने, त्यो ‘मूल्य’ तोकेर किन्ने विदेशीहरू र यस्तो विषयमा रोक्नुको सट्टा आफ्नो लागि भाग खोज्ने तपाईहरू सम्पूर्णमा— हार्दिक श्रद्धाञ्जली — तपाईंलाई नर्क पनि प्राप्त हुन्न होला !,” सुमनाले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्, “माथिको आशिर्वाद नभइ यो सम्भव हुँदैन भन्ने अनुसन्धान अधिकृतको कुरा छ, सहसचिवलाई माथिको आशिर्वाद ककस्को हो ?”
भिजिट भिसा र मानव तस्करीमा गृहमन्त्री लेखकको नाम जोडिएको विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले केही बोलेको छैन ।