
काठमाडौं । वैदेशिक रोजगार विभागले कानुनविपरीत वैदेशिक रोजगारमा पठाउने कार्य नगर्न/नगराउन आग्रह गरेको छ । विभागको अनुगमन शाखाले शुक्रबार विज्ञप्ति जारी गर्दै गैरकानुनी रूपमा नेपाली कामदारलाई विदेश नपठाउन भनेको हो ।
वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न वा कुनै पनि नेपाली कामदारलाई श्रमिकको रूपमा विदेश पठाउन वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम विभागमा दर्ता भएको संस्था हुनुपर्ने कानुनी प्रावधान छ ।
ऐनमा उल्लेख भएबाहेक कुनै पनि व्यक्ति वा संस्थाले नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाउन वा पठाउनको लागि प्रक्रिया अगाडि बढाउन नपाउने कानुनी व्यवस्था रहेको विभागले स्मरण गराएको छ ।
सोको नियमन गर्ने जिम्मेवारी वैदेशिक रोजगार विभागलाई रहेको छ । “यसै सन्दर्भमा कतिपय व्यक्ति, शैक्षिक परामर्श केन्द्र, ट्राभल एजेन्सी, तालिमप्रदायक संस्था, भाषा प्रशिक्षण गराउने संस्थालगायत संघसंस्था आदिले नेपाली श्रमिकलाई विदेश पठाइदिने भनी सूचना जारी गर्ने गरेको, राहदानी र अन्य कागजात संकलन गर्ने गरेको एवं नक्कली कागजात तयार गरी विदेश पठाउने कार्यमा संलग्न भएको भनी यस विभागमा उजुरी एवं जनगुनासो प्राप्त भइरहेका छन्,” विज्ञप्तिमा भनिएको छ, “अतः कुनै पनि व्यक्ति वा संस्थाले गैरकानुनी तवरले वैदेशिक रोजगारीमा पठाउने, पठाउन सहजीकरण गर्ने कार्य नगर्नु/नगराउनुहुन सम्बन्धित सबैमा सूचित गरिन्छ ।”
यस्तो कार्य भए/गरेको पाइएमा विभागमा उजुरी वा जानकारी गराउन सरोकारवालालाई आग्रह गरिएको छ । विभागले टोली खटाई नियमित एवं आकस्मिक रूपमा अनुगमन गरिने र अनुगमनका क्रममा कानुनविपरीत भएको पाइएमा कारबाही गर्ने चेतावनी पनि दिएको छ ।