site stats
बाह्रखरी :: Baahrakhari
विदेश
भारतीय उपभोक्ता किन टर्कीका उत्पादन बहिष्कार गरिरहेका छन् ?

काठमाडौं । भारतले टर्कीका सामान र सेवाहरू बहिष्कार गर्न थालेको छ । दक्षिण एसियाली परमाणु शक्ति राष्ट्र भारत र पाकिस्तानबीचको हालको सैन्य तथा कूटनीतिक तनावमा टर्कीले पाकिस्तानलाई समर्थन गरेपछि भारतले अनौपचारिक रूपमा टर्कीका सामान र सेवाहरू बहिष्कार गर्न थालेको हो । 

आधिकारिक व्यापार प्रतिबन्ध नलगाए पनि भारतीय वितरक, ई–कमर्स प्लेटफर्म र ट्राभल कम्पनीहरूले राष्ट्रिय हितको पक्षमा भन्दै टर्कीका उत्पादन र व्यापारिक प्रतिष्ठानहरूसँग सम्बन्ध विच्छेद गरिरहेका छन् ।

कश्मीरमा पर्यटकहरूको हत्याको जवाफमा भारतले पाकिस्तानविरुद्ध हमला गरेपछि टर्कीका राष्ट्रपति रेसेप तय्यिप एर्दोगनले पाकिस्तानलाई समर्थन जनाएपछि भारतबाट अनौपचारिक बहिष्कार सुरु गरेको हो । 

Argakhachi Cement Island Ad

पाकिस्तानले भारतीय सैन्य सुविधाहरूमा टर्कीका ड्रोनहरू प्रयोग गरेपछि भारतमा थप आक्रोश बढेको थियो । भारतीय वायुसेनाका निर्देशकले पत्रकार सम्मेलनमा टर्कीका ड्रोन अथवा अन्य भए पनि भारतको एकीकृत वायु रक्षा प्रणाली मजबुत भएकाले अरु असफल भएको बताएका थिए ।

भारतले टर्कीबाट हरेक वर्ष खनिज इन्धन, बहुमूल्य धातु, खाद्यपदार्थ र लत्ताकपडालगायत २.७ बिलियन डलरभन्दा बढी मूल्यका सामान आयात गर्छ ।
 
अखिल भारतीय उपभोक्ता उत्पादक वितरक महासंघले टर्कीका सम्पूर्ण सामाना बहिष्कार घोषणा गरेपछि टर्कीका खाद्य निर्यातकहरूलाई प्रतिवर्ष २३४ मिलियन डलरको घाटा हुने अनुमान छ ।

भारतीय सामाजिक संजालमा #BoycottTurkey जस्ता ह्यासट्याग छाएको छ । चकलेट, कफी, जाम, बिस्कुट र स्किनकेयरजस्ता टर्कीका उत्पादनहरू भारतीय पसलहरूबाट हट्न थालेका छन् ।
ई–कमर्स प्लेटफर्महरूले पनि यस्तै कदम चाल्दै फ्लिप्कार्टको फेसन शाखा मिन्ट्राले ट्रेन्डियोल, एलसी वाइकिकी र मावीजस्ता टर्की ब्रान्डहरू हटाएको छ । यो निर्णय राष्ट्रिय हितमा लिइएको बताएका छन् ।

मुकेश अम्बानीको रिलायन्स कंग्लोमरेटको स्वामित्वमा रहेको अजिओले टर्कीका ब्रान्डहरू हटाएको वा स्टक सकिएको हो बुझ्न लगाएको छ । 

यात्रा बुकिङ प्लेटफर्म मेकमाइट्रिप, क्लियरट्रिप, इक्सिगो र इजिमाइट्रिपले टर्कीका लागि सेवाहरू रद्द गरेका छन् ।

इक्सिगोले हालको संघर्षमा पाकिस्तानलाई सहयोग गरेको आरोप अजरबैजानदेखि चीनसम्म सेवा निलम्बन विस्तार गरेको छ । 

इजिमाइट्रिपले भारतीय यात्रुहरूले अजरबैजान र टर्कीका लागि बुकिङ ६० प्रतिशतले घटेको र समग्रमा रद्द गर्ने क्रम २५० प्रतिशतले बढेको बताएको छ ।
अजरबैजान र टर्की बहिष्कारको माग गर्ने प्रमुख आवाजहरूमध्ये भारतीय अर्बपति हर्ष गोयन्का एक थिए ।

सरकारीस्तरमा भारतले गत हप्ता विमानस्थल व्यवस्थापन कम्पनी सेलेबीको एयरपोर्ट सेवाको सुरक्षा स्वीकृति रद्द गरेको थियो । यो कम्पनीले दिल्ली र मुम्बईसहित नौ प्रमुख विमानस्थलमा कम्पनीको सेवा संचालन गर्दै आएको थियो ।

भारतीय चलचित्र उद्योग र कर्पोरेट क्षेत्रलाई पनि टर्की र अजरबैजानमा चलचित्र वा विज्ञापन छायांकन नगर्न आग्रह गरिएको छ ।
 
भारतका कलेज र विश्वविद्यालयहरूले टर्कीसँगको सम्बन्ध विच्छेद गरी विद्यार्थी आदानप्रदान कार्यक्रम स्थगित गरेका छन् ।

आईआईटी बम्बई, जेएनयू, जामिया मिलिया इस्लामिया, मौलाना आजाद राष्ट्रिय उर्दू विश्वविद्यालय, चण्डिगढ विश्वविद्यालय र लभली प्रोफेसनल युनिभर्सिटीजस्ता प्रमुख सार्वजनिक र निजी संस्थाहरूले हालको परिस्थितिको प्रतिक्रियास्वरूप टर्कीसँगको सम्पर्क पूर्णरूपमा बन्द गरेका छन् । इनडिपेन्डेन्ट न्युजबाट ।

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०८२  ११:११
प्रतिक्रिया दिनुहोस्