
काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिडका अनुभवी मिडफिल्डर लुका मोड्रिचले क्लब विश्वकपपछि क्लब छाड्ने भएका छन् । क्रोएसियाका ३९ वर्षीय स्टार मोड्रिचले बिहीबार सामाजिक सञ्जालमार्फत १३ वर्षको मड्रिड बसाइ अन्त्य गर्ने निर्णय लिएको जानकारी दिएका हुन् ।
“त्यो क्षण आइपुगेको छ, जुन म कहिल्यै नआओस् भन्ने चाहन्थेँ । तर, फुटबल यही हो । जीवनमा सबै कुरा सुरु भएर अन्त्य पनि हुन्छ,” मोड्रिचले भनेका छन्, “सन् २०१२ मा संसारकै उत्कृष्ट क्लबको जर्सी लगाउने आशा र ठूला उपलब्धि हासिल गर्ने महत्त्वाकांक्षासहित म यहाँ आएको थिएँ । तर, त्यसपछि जे भयो, त्यो मैले कल्पना पनि गरेको थिइनँ ।”
उनी सन् २०१२ मा इंग्लिस क्लब टोटनहमबाट रियाल भित्रिएका थिए । १३ वर्ष रियालमा रहँदा मोड्रिचले स्पेनिस क्लबबाट २८ उपाधि जितेका छन् ।
उनले समान ६ च्याम्पियन्स लिग र क्लब विश्वकप जिते । पाँच युरोपियन सुपर कप, चारपटक ला लिगा, दुई कोपा डेल रे र पाँच सुपर कप पनि जितेका छन् ।
क्लब विश्वकप आउँदो जुन १५ देखि जुलाई १३ सम्म हुनेछ ।