
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले समाजमा अहिले व्याप्त रहेको नकारात्मक सोच र विचारले समाज र देश नबन्ने बताएकी छन् ।
नेपाली जनसम्पर्क समिति जापानद्वारा टोकियोमा आयोजित स्वागत समारोहमा उनले केही पनि हुँदैन र सम्भव पनि छैन भन्नेजस्ता नकारात्मक धारणाले समाज र देशको विकास नहुने बताइन् ।
उनले यस्तो सोच देशभित्रका राजनीतिक पार्टी, नेपाली समाज र विदेशमा बस्ने नेपालीहरूमा समेत रहेको बताइन् । यस्तो प्रवृत्ति त्यागेर देश निर्माणका लागि सकारात्मक वातावरण निर्माण गर्नुपर्नेमा उनको जोड छ ।
“कुनै कुराको पनि राम्रो प्रस्तुति या अभिव्यक्ति देख्दिनँ । समाजमा देशमा राम्रा काम पनि भएका छन् । तर, तिनलाई राम्रो भनेको कतै सुनिँदैन,” उनले भनिन्, “सबैलाई मिडियामा भाइरल नै हुनुपर्ने जस्तो छ । नराम्रो प्रचार गरेपछि चर्चामा आइन्छ भन्नेमात्र सबैको सोच छ । यसरी देश बन्दैन ।”
मन्त्री डा. राणाले गैरआवासीय नेपालीहरूलाई पनि एकताबद्ध भएर सकारात्मक सोचका साथ लाग्न आग्रह गरिन् । रासस