
काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले नीतिगत स्थायित्व र सरोकारवालाहरूसँगको छलफलका आधारमा मौद्रिकलगायत केन्द्रीय बैंकका नीति तय गरिने बताएका छन् ।
निजी क्षेत्रको प्रतिनिधिमूलक छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग बुधबार राष्ट्र बैंकमा भएको भेटमा गभर्नर डा. पौडेलले केन्द्रीय बैंकका निर्णयहरू पूर्वानूमानयोग्य हुने बताए । “निजी क्षेत्र अर्थतन्त्रको संवाहक हो । अर्थतन्त्र चलायमान हुन स्थायित्व आवश्यक छ । निर्णयहरू पूर्वानूमानयोग्य हुनुपर्दछ । बैंकिङ क्षेत्रमा आकस्मिक कुनै निर्णय गर्नुभन्दा सरोकारवालाहरूसँग बसेर छलफल गरेर अगाडि बढ्दा नै नीतिगत स्थायित्व कायम गर्न सकिन्छ भन्ने मेरो धारणा हो,” उनले भने । उनले राष्ट्र बैंकले अर्थतन्त्र चलायमान बनाउन भूमिका खेल्ने उल्लेख गरे ।
नवनियुक्त गभर्नरलाई बधाई तथा शुभकामना दिँदै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले केन्द्रीय बैंकलाई लगानीमैत्री र मनोबल बढाउने कार्यक्रम ल्याउन सुझाव दिए । उनले राष्ट्र बैंकले लगानीमैत्री वातावरण निर्माण गर्दै देशको आर्थिक समृद्धिका लागि भूमिका खेल्नुपर्ने बताए ।
“चालु आर्थिक वर्षमा कर्जाको व्याजदर न्यून हुँदा समेत कर्जा विस्तार हुन नसकेको सन्दर्भमा निजी क्षेत्रको मनोबल बढाउन मौद्रिक र गैरमौद्रिक उपाय अवलम्बन गर्नुपर्ने देखिन्छ । नीतिगत अस्थिरता लगानीको मुख्य बाधक रहेको सन्दर्भमा हामीले लगानी दशक घोषणा गर्दै एकीकृत नीति र १० वर्षसम्म स्थिर नीतिको माग गरिरहेका छौँ । केन्द्रीय बैंकका नीतिहरू प्नि–स्थिर हुन आवश्यक छ,” अध्यक्ष ढकालले भने ।
उनले देशको समग्र अर्थतन्त्र चलायमान हुन ग्रामीण अर्थतन्त्र चलायमान हुनुपर्ने उल्लेख गर्दै विप्रेषण आप्रवाह खुला र सहज बनाउनुपर्ने सुझाव दिए ।