
काठमाडौं । मोटरसाइकल र अटो टेम्पो चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–३ घर भई कन्काई नगरपालिका–६ बुद्धचोक बस्ने २८ वर्षीय रन्जित राजवंशी, २६ वर्षीय प्रदीप राजवंशी, २० वर्षीय कुमार राजवंशी र बिर्तामोड–७ बस्ने २७ वर्षीय जागिर आलम रहेका छन् ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरूलाई चोरीका चारवटा मोटरसाइकल र एउटा अटो टेम्पोसहित पक्राउ गरेको हो ।
उनीहरूले बिर्तामोड एरियाका विभिन्न स्थानबाट मे८प २११६, प्रदेश १–०१–०१५ प ९२४२, मे९प ३६१८ र प्रदेश ३–०२–००९प ५१२७ नम्बरको मोटरसाइकल तथा मे१ह ४८९६ नम्बरको अटो टेम्पो चोरी गरी वास्तविक नम्बर प्लेट परिवर्तन गरेर चलाउँदै आएको अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ ।
उनीहरूमाथि चोरीसम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।