site stats
बाह्रखरी :: Baahrakhari
खेल
सिटी यो सिजन उपाधिविहीन नभएको ग्वार्डिओलाको दाबी

काठमाडौं । म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो टोली यस सिजन उपाधिविहीन नभएको दाबी गरेका छन् ।

सिटीले गत अगस्टमा म्यानचेस्टर युनाइटेडविरुद्ध सडन डेथमा जित निकाल्दै कम्युनिटी सिल्डको उपाधि जितेको थियो । तर, त्यसयता घरेलु लिग र च्याम्पियन्स लिगमा समेत सिटीको प्रदर्शन निराशजनक रह्यो । 

गएको शनिबार पनि सिटीले एफए कपको फाइनलमा क्रिस्टल प्यालेससँग १–० को हार बेहोरेको थियो । पछिल्लो एक वर्षयता खराब प्रदर्शन रहे पनि ग्वार्डिओलाले भने आफ्नो टोली उपाधिविहीन नभएको बताएका हुन् ।

“पक्कै पनि च्याम्पियन्स लिगमा छनोट हुनु महत्त्वपूर्ण छ । तर, काराबाओ जितेको न्युक्सासल, प्रिमियर लिग जितेको लिभरपुल र कम्युनिटी सिल्डसहितको म्यानचेस्टर सिटीबाहेक च्याम्पियन्स लिग खेल्ने सम्भावना रहेका अरू टिमले उपाधि जितेका छैनन्,” ग्वार्डिओलाले भने ।

प्रिमियर लिगको छैटौँ स्थानमा आसिन सिटीले ३६ खेलबाट ६५ अंक जोडेको छ । जुन शीर्ष पाँचमा रहेको एस्टोन भिल्लाको भन्दा एक अंक कम हो । सिटीलाई च्याम्पियन्स लिगमा छनोट हुन आफ्नो नतिजाबाहेक अन्य टिममा पनि भर पर्नुपर्ने समीकरण बनेको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १२:०२
प्रतिक्रिया दिनुहोस्