site stats
बाह्रखरी :: Baahrakhari
देश
चारवटा प्रदेशमा बिहानैदेखि वर्षा, मार्खुमा भारी वर्षा
फाइल तस्बिर ।

काठमाडौं । देशका केही भूभागमा आज पनि वर्षाको सम्भावना रहेको छ । सातवटै प्रदेशमा वर्षाको सम्भावना रहेको छ । 

केही प्रदेशमा बिहानैबाट वर्षा भइरहेको छ । कोसी, मधेस, गण्डकी र वाग्मती बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् हरिप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार मकवानपुरको मार्खुमा अहिले भारी वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । 

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । मधेस प्रदेशलगायत कोसी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको समेत सम्भानवा छ ।

काठमाडौंमा आज वर्षाको सम्भावना रहेको छ । “काठमाडौंमा आज वर्षाको सम्भावना छ,” मौसमविद् दाहालले बाह्रखरीसँग भने, “बिहान वर्षाको सम्भावना नरहे पनि काठमाडौंमा दिउँसो वर्षा हुनेछ ।” 

विभागले राति कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । 

कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा र मधेस प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । 

हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । 

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  ०६:३६
प्रतिक्रिया दिनुहोस्