site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एनसेल अपांगता समावेशीकरण प्रवर्द्धन गर्ने पहिलो दूरसञ्चार कम्पनी

काठमाडौं । एनसेल अपांगता समावेशीकरण प्रवर्द्धन गर्ने पहिलो दूरसञ्चार सेवा प्रदायक बनेको छ । एनसेलले अपांगता भएका व्यक्तिहरूका लागि डिजिटल समावेशीकरण प्रवर्द्धन गर्ने सिद्धान्तमा हस्ताक्षर गरेको छ । 

एनसेलले जीएसएमएले जारी गरेको अपांगता भएका व्यक्तिहरूको डिजिटल समावेशीकरणलाई प्रवर्द्धन गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरेको हो । 

जीएसएमएका यी सिद्धान्तहरूले डिजिटल समावेशीकरण प्रवर्द्धन गर्न र मोबाइल सेवामा अपांगता भएका व्यक्तिहरूको पहुँचको खाडल हटाउन विश्वभरका मोबाइल सेवा प्रदायकलाई प्रेरणा र मार्गनिर्देशन प्रदान गर्दछ ।

जीएसएमएसँगको यो सहकार्यले सबैमाझ मोबाइल प्रविधि र डिजिटल सेवाको पहुँच र यसका अवसरबाट पाइने लाभ समान रूपमा सुनिश्चित गराउनु पर्छ भन्ने एनसेलको प्रतिबद्धतालाई प्रतिविम्बित गर्छ । यी सिद्धान्तमा हस्ताक्षर गर्ने एनसेल पहिलो नेपाली मोबाइल सेवा प्रदायक कम्पनी हो ।

यो उपलब्धिले एनसेलका हाल जारी विभिन्न पहल तथा प्रयासलाई थप बलियो बनाउँछ । यस्ता कार्यमा अपांगता भएका व्यक्तिका लागि सधौ अन योजनाअन्तर्गत डेटामा ५० प्रतिशत छुट, ग्राहकमैत्री सेवा केन्द्र, पूर्ण रूपमा अपांगतामैत्री कार्यालय संरचना, नेपालका पारा खेलाडीलाई सशक्त बनाउने सहकार्यलगायत पहल समावेश रहेका छन् ।

एक अग्रणी जीएसएम मोबाइल सेवा प्रदायकको रूपमा समावेशीकरण, दिगोपन, र उद्देश्यप्रेरित नवप्रवर्तनका कार्यमा केन्द्रित रहँदै आएको एनसेलले जनाएको छ । 

अब एनसेलले आफ्ना सेवाहरूको पहुँचलाई अझै सहज बनाउँदै लैजाने, समावेशी ग्राहक अनुभव प्रवर्द्धन गर्ने, र समुदायहरूसँग सहकार्य गर्दै सकारात्मक प्रभाव सिर्जना गर्ने जस्ता कार्य गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

एक हस्ताक्षरकर्ता रूपमा, एनसेलले एक्सेसिबिलिटी अर्थात पहुँच योग्यतालाई आफ्नो संस्थागत रणनीतिमा समावेश गर्ने, समावेशी सेवा तथा सुविधाहरू डिजाइन गर्ने र अपांगता भएका व्यक्तिहरूको समुदायसँग सक्रिय रूपमा संलग्न भई उनीहरूको विशेष आवश्यकतालाई बुझ्न र समाधान गर्न प्रतिबद्धता व्यक्त गरेको छ ।

“हामीले केवल सम्पर्क स्थापित गर्ने कनेक्टिभिटी सेवा मात्र उपलब्ध गराइरहेका छैनौँ, हामी मानिसहरूलाई सशक्त बनाइरहेका छौँ । जीएसएमएसँग अपांगता भएका व्यक्तिहरूको डिजिटल समावेशीकरण प्रवर्द्धन गर्ने यी सिद्धान्तमार्फत हामी नेपालको डिजिटल भविष्यमा कोही पनि पछि नपरोस् भन्ने सुनिश्चित गर्न महत्त्वपूर्ण कदम अगाडि बढिइरहेका छौँ । हातेमालो गर्दै, हामीले डिजिटल दुनियाँमा सफल हुने समावेशी र सशक्त समाज निर्माण गर्ने लक्ष्य राखेका छौँ,” एनसेलकी एनसेल फाउन्डेसन एन्ड स्पेसल प्रोजेक्ट डाइरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन् ।

यस सहकार्यसँगै, एनसेलले विश्वभरका दूरसञ्चारका अग्रणीहरूमाझ आफूलाई सामेल गराउँदै मोबाइल प्रविधिलाई अझ समावेशी बनाउन एकसाथ काम गर्ने भएको छ । जसले अपांगता भएका व्यक्तिहरूलाई सेवामा कनेक्टेड मात्र नबनाई उनीहरूको सशक्तीकरणमा मद्दत प्रदान गर्नेछ ।

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  १४:०१
प्रतिक्रिया दिनुहोस्