site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
पाँच महानगरले ल्याए बजेट, बालेनको ‘हठ’ले काठमाडौं महानगर असफल

काठमाडौं । काठमाडौं महानगरपालिका पहिलोपटक निर्धारित समयमा आगामी आर्थिक वर्ष ०८२/०८३ को बजेट ल्याउन असफल भएको छ । महानगरले बजेटअघिको नीति तथा कार्यक्रम पनि ल्याउन सकेन । मेयर बालेन शाह (बालेन) आफ्नै हठका कारण विवादमा फसेपछि काठमाडौं महानगरपालिका पहिलोपटक निर्धारित समयमा बजेट ल्याउन असफल भएको हो ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा १ मा उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले आउँदो आर्थिक वर्षको राजस्व तथा व्ययको अनुमान (बजेट) कार्यपालिकाबाट स्वीकृत गरी असार १० गतेभित्र नगरसभामा पेस गर्नुपर्ने व्यवस्था छ । प्रस्तुत बजेट असार मसान्तभित्र नगरसभाबाट पारित गरिसक्नुपर्ने सोही उपदफा ६ मा उल्लेख छ ।

कानुनमा असार १० गतेभित्र बजेट ल्याउने स्पष्ट व्यवस्थालाई काठमाडौं महानगरले उल्लंघन गरेको छ । जबकी पाँच महानगरपालिकाले मंगलबार (असार १०)सम्म आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेका छन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

निर्धारित समयमा ल्याउन असफल भएपछि काठमाडौं महानगरको बजेट कहिले आउने हो अझै अनिश्चित बनेको छ । बजेट नल्याए आउँदो साउनदेखि महानगरका कर्मचारीले तलबदेखि विकास निर्माणका सबै काम ठप्प हुनेछ । 

मेयर बालेन गत जेठ २८ गते कार्यपालिका बैठक र नगरसभा बोलाउन सहमत भएका थिए । जेठ २८ मा उपमेयर सुनिता डंगोलसहित फरक पार्टीका तीन वडाध्यक्षसँगको भेटवार्तापछि बालेनले बैठक बोलाउन सहमति जनाएका थिए ।

महानगरका प्रवक्ता नवीन मानन्धरले ६ महिनादेखि रोकिएको नगरसभा र कार्यपालिका बैठकको प्रक्रिया अब अघि बढाइने विश्वास व्यक्त गरेका थिए । तर, असार १० मा बालेनले बजेट ल्याउनका लागि कार्यपालिका बैठक नै राख्न सकेनन् । गत वर्षको असार १० मा काठमाडौं महानगरले चालु आर्थिक वर्षका लागि २४ अर्ब ९० करोड रुपैयाँको बजेट ल्याएको थियो । 

देशभर कुल ६ मध्ये पाँच महानगरपालिकाले बजेट ल्याउँदा काठमाडौंमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको विषयलाई लिएर विवादमा फस्दा बालेन बजेटमा सहमति जुटाउन असफल भएका हुन् । स्वतन्त्र मेयर बालेनले कार्यपालिका बैठक बोलाउन सकिरहेकै छैनन् । महानगरका अनुसार, मेयर बालेन र उपमेयर डंगोलबीच राजनीतिक सहमति जुट्न सकेको छैन । 

महानगरका सहायक प्रवक्ता धु्रव काफ्लेले बजेट कहिले ल्याउने भन्नेबारे आफूलाई जानकारी नरहेको बताए । “महानगरको बजेट आगामी असार मसान्तसम्म आउँछ भन्नेमा हामी ढुक्क छौँ । नेतृत्व तहमा सहमति हुन्छ । त्यसपछि बजेट आउँछ,” काफ्लेले बाह्रखरीसित भने । 

काठमाडौंमा गत पुसयता महानगरको कार्यपालिका बैठक बस्न सकेको छैन । चैत १० गते र जेठ १२ गते दुईपटक कार्यपालिका सदस्यहरूले कार्यपालिका बैठकको माग गर्दै मेयरलाई ज्ञापनपत्रसमेत बुझाएका थिए । तर, बैठक बस्न सकेको छैन ।  

महानगरका ३२ वडामध्ये कांग्रेसले १८, नेकपा (एमाले)ले १२, नेकपा (एकीकृत समाजवादी)ले एक र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक वडाको नेतृत्व गरिरहेका छन् ।

महानगरका अरू विवाद कायमै रहेका बेला पछिल्लो समय बजेटका कारण मेयर बालेन थप दबाबमा आएका छन् । असार मसान्तभित्र बजेट ल्याइसक्नुपर्ने बाध्यता छ ।

पाँच महानगरले ल्याए २८ अर्ब ६४ करोड बजेट 
ललितपुर महानगरपालिकाले मंगलबार बजेट सार्वजनिक गरेको छ । विराटनगर, वीरगन्ज, भरतपुर र पोखरा महानगरपालिकाले पनि आगामी आर्थिक वर्ष ०८२/८३ को बजेट विनियोजन गरिसकेका छन् । 

पाँच महानगरपालिकाले २८ अर्ब ६४ करोड १६ लाख सात हजार बजेट ल्याएका छन् । जसमध्ये सबैभन्दा बढी पोखरा महानगरपालिकाले आठ अर्ब ३५ करोड १२ लाख र सबैभन्दा कम वीरगञ्ज महानगरपालिकाले तीन अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँ बजेट ल्याएको छ । 

भरतपुर महानगरको बजेट पाँच अर्ब १९ करोड  
भरतपुर महानगरपालिकाले तीन दिनअघि नै बजेट सार्वजनिक गरिसकेको छ । जसअनुसार, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पाँच अर्ब १९ करोड ७१ लाख ६६ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ । महानगरको  १७औँ नगरसभामा उपप्रमुख चित्रसेन अधिकारीले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका थिए । 

कुल बजेटको स्रोत व्यवस्थापनका लागि आन्तरिक आयबाट एक अर्ब ८० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट दुई अर्ब १५ करोड ७६ लाख, संघीय राजस्व बाँडफाँडबाट ३१ करोड ९१ लाख र प्रदेश राजस्व बाँडफाँडबाट १४ करोड चार लाख ४१ हजार रुपैयाँ अनुमान गरिएको छ । जनसहभागिताबाट पाँच करोड रुपैयाँ, बैंक मौज्दातबाट ७० करोड र सडक बोर्ड नेपालबाट  तीन करोड रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ । 

महानगरको बजेटले अधुरा तथा क्रमागत आयोजनाको निरन्तरता, सहरी पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य र सामाजिक विकासलाई मुख्य प्राथमिकतामा राखेको छ । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अधुरो कार्य सम्पन्न गर्न साझेदारीका लागि चार करोड र महानगरको प्रशासनिक भवन निर्माणका लागि चार करोड रुपैयाँ विनियोजन गरिएको छ । 

पोखरा महानगरले ल्यायो आठ अर्ब ३५ करोडको बजेट  
पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि आठ अर्ब ३५ करोड १२ लाख रुपैयाँको बजेट ल्याएको छ । आइतबार (असार ८ गते) नै नगरप्रमुख धनराज आचार्यले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि उपप्रमुख मञ्जुदेवी गुरुङले नगरसभामा बजेट पेस गरेकी थिइन् । 

पोखरा महानगरपालिकाले चालु आर्थिक वर्षमा सात अर्ब ५१ करोड ३२ लाखको बजेट ल्याएको थियो । संघबाट एक अर्ब एक करोड ८१ लाख रुपैयाँ अनुमान गरिएको छ । 

बजेटअनुसार, नगर कार्यपालिकाको कार्यालयतर्फ ९५ करोड, सामाजिक विकासतर्फ ३८ करोड, आर्थिक विकासतर्फ १८ करोड, वडा कार्यालयतर्फ एक अर्ब, पूर्वाधारतर्फ दुई अर्ब ३३ करोड र सहरी विकास पर्यटन, वन तथा वातावरणतर्फ ३८ करोड छुट्याइएको छ ।

वीरगञ्जको तीन अर्ब २२ करोड मात्र 
वीरगञ्ज महानगरले असार ९ गते नै आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट सार्वजनिक गरिसकेको छ । महानगरले कुल तीन अर्ब २२ करोड ४८ लाख ४९ हजार रुपैयाँको बजेट ल्याएको हो । महानगरको नगरसभाको १७औँ अधिवेशनमा महानगरका उपप्रमुख इम्तियाज आलमले आगामी आर्थिक वर्षको आयव्ययसहितको बजेट प्रस्तुत गरेका हुन् ।

महानगरले आगामी आर्थिक वर्षको बजेटमा चालु खर्चतर्फ दुई अर्ब २६ करोड ५० लाख ४९ हजार रुपैयाँ विनियोजन गरेको छ ।  पुँजीगत खर्चतर्फ ९२ करोड ३४ लाख अर्थात् कुल बजेटको २८.६४ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ तीन करोड ६४ लाख रुपैयाँ विनियोजन गरेको छ । 

महानगरले आगामी आर्थिक वर्षको बजेटमा अनुमानित खर्च व्यहोर्ने स्रोतमा आन्तरिक राजस्वबाट  एक अर्ब १५ करोड संकलन हुने अनुमान गरिएको छ । त्यसैगरी सघीय अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ३७ करोड ३० लाख बजेट प्राप्त हुने अनुमान गरिएको छ । 

आलमका अनुसार, आगामी आर्थिक वर्षको बजेटको मुख्य प्राथमिकतामा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, सरसफाइ, वातावरण संरक्षण, गुणस्तरीय भौतिक पूर्वाधार र डिजिटलमैत्री सेवा प्रवाह रहेका छन् । 

यस महानगरले चालु आर्थिक वर्षभन्दा आगामी आर्थिक वर्षमा ३३ करोड बढीको बजेट ल्याएको हो । चालु आर्थिक वर्षमा महानगरको बजेट दुई अर्ब ८९ करोड ४८ लाख थियोे । महानगरले बीपी उद्यान र रेल्वे संग्रहालय बनाउने घोषणा गरेको छ ।   

विराटनगर महानगरको बजेट चार अर्ब ४० करोड  
विराटनगर महानगरपालिकाले असार १० गते आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि चार अर्ब ४० लाख रुपैयाँको बजेट ल्याएको छ । नगरसभाको १६औँ अधिवेशनमा उपप्रमुख शिल्पा निराला कार्कीले नीति तथा कार्यक्रम र विनियोजित बजेट प्रस्तुत गरेकी हुन् ।

बजेटको स्रोत वित्तीय समानीकरण अनुदान संघ र प्रदेशबाट ३७ करोड ९६ लाख ३० हजार, राजस्व बाँडफाँटबाट एक अर्ब १९ करोड २० लाख, आन्तरिक राजस्वबाट एक अर्ब ४० करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । 

नगद मौज्दात १४ करोड, संघीय सरकारको ससर्त र समपूरक अनुदान ८३ करोड ३४ लाख, प्रदेशको ससर्त अनुदान चार करोड २३ लाख ६७ हजार, सडक बोर्ड नेपालबाट एक करोड ५० लाख र अरु संघसंस्थाबाट १६ लाख रुपैयाँ प्राप्त हुने अनुमान छ ।

महानगरले कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ६४ करोड ७५ लाख, ऋणको साँवाब्याज भुक्तानीका निम्ति पाँच करोड, चालु आर्थिक वर्षको भुक्तानी दिन बाँकी योजना तथा कार्यक्रमका लागि आठ करोड रुपैयाँलगायत विभिन्न कार्य गर्न बजेट विनियोजन गरेको छ । महानगरले  पूर्वाधार विकास, वडास्तरीय योजना र सामाजिक क्षेत्रलाई प्राथमिकता दिएको छ ।

ललितपुर महानगरको बजेट सात अर्ब ४६ करोड 
ललितपुर महानगरले आर्थिक वर्ष २०८२/२०८३ को लागि सात अर्ब ४७ करोड ४१ लाख ४७ हजार रुपैयाँ बजेट नगरसभामा प्रस्तुत गरेको छ । महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नगरसभामा बजेट प्रस्तुत गरिन् । चालु खर्चतर्फ दुई अर्ब ४९ करोड ८४ लाख ४२ हजार र पुँजीगततर्फ चार अर्ब ५० करोड ७७ लाख २९ हजार  विनियोजन गरिएको छ ।

नगरलाई समृद्धि सुशासन सम्पदा र संस्कृति संरक्षण, दिगो पूर्वाधार, हरियाली प्रवर्द्धन, पर्यावरण, आत्मनिर्भर अर्थतन्त्र, गुणस्तरीय शिक्षा, घर–घरमा स्वच्छ खानेपानी, सामाजिक विकास, स्वास्थ्य युवा रोजगार लगायतका क्षेत्रलाई बजेटले प्राथमिकता दिएको छ ।

महानगरले आगामी आर्थिक वर्षको बजेटबाट बुङमती, खोकना, धापाखेल, सुनाकोठी हरिसिद्धिलाई समेटेर सांस्कृतिक सडक निर्माण गर्ने घोषणा गरेको छ । 

नगर प्रमुख चिरीबाबु महर्जनले पाटन दरबार क्षेत्र, बुङमती, खोकना, सुनाकोठी, धापाखेल हरिसिद्धिलाई समेटेर रणनीतिक सांस्कृतिक सडक निर्माणलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने बताए । महानगरले ‘ज्येष्ठ नागरिकसँग महानगर’ कार्यक्रमलाई विस्तार गरी निःशुल्क थेरापीको सेवा समेत दिने भएको छ । 

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १८:५०
प्रतिक्रिया दिनुहोस्