
विराटनगर । प्रहरीले झापाको बिर्तामोडबाट कृषि औजार बोकेका तीनवटा भारतीय कन्टेनर नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका निमित्त प्रवक्ता प्रहरी निरीक्षक प्रवीण श्रेष्ठका अनुसार कन्टेनरमा भन्सार छलेर नेपाल भित्र्याइँदै गरेको फसल काट्ने मेसिन, पराल संकलक मेसिन र तिनमा प्रयोग हुने सामान पाइएको छ ।
आइतबार साँझ बिर्तामोड नगरपालिकाका-५ मा चेकजाँच गर्दा भारतको नागाल्यान्डबाट काँकडभिट्टा नाका हुँदै ती सामान नेपाल ल्याइँदै गरेको पाइएको श्रेष्ठले बताए ।
एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एल ७४८६ नम्बरका कन्टेनरमा तीन करोड ६१ लाख रुपैयाँबराबरको कृषि औजार भेटिएको थियो ।
ती कन्टेनरलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएको प्रहरीले जनाएको छ ।