
काठमाडौं । संखुवासभाका काशीनाथ पौडेल प्रहरीको थुनामा छन् । संखुवासभाको धर्मदेवी नगरपालिका–३, बाइसजोरेका ४९ वर्षीय पौडेललाई प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत बिहीबार पक्राउ गरेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयमा दुईजना पीडितले दिएको उजुरीका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो ।
प्रहरीका अनुसार, पौडेलले गौतम बुद्धको मूर्तिभित्र सुन रहेको प्रभोलन देखाएर ठगी गर्ने गरेको खुलेको छ । उनले दुई जनालाई नक्कली बुद्धको मूर्ति देखार रकम ठगी गरेको खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए । उनले दुईजना पीडितमध्ये एकलाई १० लाख रुपैयाँ र अर्कोलाई ११ लाख ८५ हजार रुपैयाँ ठगी गरेको पाइएको छ ।
कसरी गर्थे ठगी ?
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पौडेल लामो समयदेखि मूर्तिभित्र सुन रहेको प्रलोभन देखाएर ठगी गर्ने गरेको खुलेको छ । पौडेलले भक्तपुर मध्यपुर थिमि नगरपालिका–६ बस्ने धनकुटाका ३९ वर्षीय सुन व्यसायीलाई गएको मंसिर ८ गते १० लाख रुपैयाँ ठगेका थिए । यस्तै, काठमाडौंको न्युरोड बस्ने सुनसरी बराहक्षेत्रका २४ वर्षीय युवाबाट गएको चैत ११ मा ११ लाख ८५ हजार रुपैयाँ ठगी गरेको खुलेको छ ।
प्रहरीका अनुसार, पौडेलले सुन व्यवसायीलाई नै नक्कली सुन देखाएर ठगी गर्दै आएको खुलेको छ । प्रहरीमा उजुरी दिने दुवै सुन व्यवसायी हुन् । अनुसन्धानमा खटिएका प्रहरीका अनुसार, पौडेलमा सुन व्यवसायीलाई लक्षित गरेर उनीहरूलाई नै नक्कली सुन बिक्री गरेर ठगी गर्ने खुबी छ ।
‘‘पौडेलले सामान्य मान्छेलाई ठगी गर्ने होइनन्, उनले सुन व्यवसायीलाई नै नक्कली सुन दिएर रकम ठगी गर्ने गरेका हुन्,’’ ती अधिकारी भन्छन् ।
प्रहरीका अनुसार, ठगी धन्दामा पौडेलबाहेक अन्य व्यक्तिको समेत संलग्नता हुन सक्ने आशंका गरिएको छ । उनीहरूले सुनको मूर्ति भन्दै अन्य धातुले बनेको बुद्धको मूर्ति देखाएर व्यवासीलाई ठगी गर्ने गरेका छन् ।
प्रहरीका अनुसार, पौडेलसित १० किलोभन्दा माथिका बुद्धका मूर्ति थिए । सयौँ वर्ष पुरानो मूर्ति भनेर देखाउन बाहिरी आवरण पुरानै शैलीमा कालो रंग दलिएको हुन्थ्यो । तर, भित्र कोट्याएर हेर्दा सुनजस्तै पहेँलो धातु निस्किनेमात्रै होइन, निस्किएको धुलो परीक्षण गर्दा केही मात्रामा सुनसमेत भेटिन्थ्यो ।
‘‘कालो बुद्धको मूर्तिभित्र केही मात्रामा सुन पनि हालिएको हुँदो रहेछ । व्यवसायीले काटेर लिएर जाँच गर्दासमेत सुन नै भेटिने भएपछि रकम दिँदा रहेछन् ।’’
दश किलोभन्दा बढीका मूर्तिलाई सस्तोमा दिने र त्यसभित्र सुन रहेको प्रलोभनमा परेपछि व्यवसायीले सजिलै खरिद गर्ने गरेको प्रहरीको भनाइ छ ।