
किभ (युक्रेन) । उत्तरी युक्रेनको सुमी क्षेत्रमा यात्रीवाहक सानो बसमा गरिएको रुसी मानवरहित हवाई यन्त्र (ड्रोन) आक्रमणमा परी नौजनाको मृत्यु भएको छ । चारजना घाइते छन् ।
स्थानीय सैनिक प्रशासनले सामाजिक सञ्जाल टेलिग्राममार्फत उक्त आक्रमणमा पूर्ण रूपमा क्षति पुगेको सानो बसको तस्बिरसहित जानकारी दिँदै मृतकको संख्या नौ पुगेको जनाएको हो ।
अधिकारीहरूले यसअघि आठजनाको ज्यान गएको बताएका थिए । सुमी जिल्लातर्फ गइरहेको बसमाथि बिलोपिल्लिया नगरनजिकै आक्रमण गरिएको सैनिक प्रशासनले जनाएको छ ।
यो विस्फोट युक्रेन र रुसबीच इस्तानबुलमा करिब तीन वर्षपश्चात् भएको प्रत्यक्ष वार्ताको केही घण्टापछिको हो ।
वार्तामा दुवै पक्ष कैदी साटासाटमा सहमत भए पनि युद्धविराम भएको छैन । सम्भावित युद्धविरामका विषयमा विचार आदानप्रदान मात्र गरिएको जनाइएको छ ।
वार्तापछि किभले युक्रेनको ठूलो भूभाग ध्वस्त पारिएको र लाखौँ मानिस विस्थापित भएको युद्ध रोक्न ‘बिनासर्त युद्धविराम’ चाहेको स्पष्ट पारेको छ । तर, मस्कोले यस्ता आह्वान अस्वीकार गर्दै करिब एक हजार कैदी साटासाट गर्ने सहमतिको पक्षमा बल दिएको छ ।
युक्रेनका मुख्य वार्ताकार एवं रक्षामन्त्री रुस्तम उमरोभले अबको अर्को चरणमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच प्रत्यक्ष भेटवार्ता हुने बताएका छन् ।
मस्को र वासिङटनले पनि पुटिन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच द्वन्द्व व्यवस्थापनबारे उचित छलफल आवश्यक रहेको जनाएका छन् । रासस/एएफपी