
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारका केही कमिकमजोरी भए सुधार गर्दै अघि बढ्ने बताएका छन् ।
प्रजातान्त्रिक विचार समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले कांग्रेस ठूलो पार्टी भए पनि बहुमत नभएकाले मिलेर सरकार बनाउनुपर्ने बाध्यता रहेको दोहोर्याए ।
अहिलेको कांग्रेस–एमालेको संयुक्त सरकारका केही कमजोरी भए सुधार गर्दै अघि बढ्ने उनको भनाइ छ । उनले अहिलेको प्रणालीमा कुनै पनि दलको बहुमत आउन कठिन हुने भएकाले मिलेर सरकार बनाउनुपर्ने बताए । उनले मिलेरै चुनाव लड्नुपर्ने बाध्यता रहेको प्रष्ट पारे ।
सभापति देउवाले देशमा समावेशी संविधान रहेकाले सवैको प्रतिनिधित्व सदनमा रहेको बताए ।
२०४८ सालमा कांग्रेसको नेतृत्वको सरकार बनेपछि देशमा धेरै विकासका काम भएको उल्लेख गर्दै अहिले पनि मुलुक विकासको बाटोमा अघि बढिरहेको बताए ।
सभापति देउवाले २०५२ सालमा आफू प्रधानमन्त्री हुँदा सांसदहरूलाई सुविधाका लागि सवैको सहमतिले गाडी खरिदमा भन्सार छुट दिने योजना ल्याएको स्मरण गर्दै त्यसलाई विरोध गर्नेले पजेरो काण्ड भन्ने गरेको जिकिर गरे । त्यसबेला भन्सार छुट दिने योजनाको विरोध गर्नेले नै सबैभन्दा पहिले छुटमा गाडी किनेको उनले बताए ।